अर्थ

नौ अर्ब ३५ करोड लगानी गर्दै राष्ट्र बैंक



काठमाडौँ, ४ फागुन । नेपाल राष्ट्र बैंकले नौ अर्ब ३५ करोड रुपैयाँ लगानी गर्ने भएको छ । 

बैंकले एक वर्ष अवधिका लागि उपदान तथा पेन्सन कोषमा रहेको उक्त रकमलाई लगानी गर्न लागेको हो । इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थामा मुद्दति निक्षेपको रुपमा उक्त रकम राख्न चाहेको राष्ट्र बैंकले जानकारी दिएको छ । 

इच्छुक बैंक तथा वित्तीय संस्थाले फागुन ८ गते साँझ ७ बजेसम्म आवेदन दिन सक्नेछन् । राष्ट्र बैंकले वाणिज्य बैंकका लागि सात अर्ब ४८ करोड, विकास बैंकका लागि एक अर्ब ४० करोड २५ लाख र राष्ट्रियस्तरका वित्त कम्पनीलाई ४६ करोड ७५ लाख रुपैयाँ छुट्याएको छ । 

यस्तो निक्षेप चाहने बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेप लगानीको ८ प्रतिशतभन्दा बढी निष्क्रिय कर्जा (एनपीएल) हुन नहुने सर्त तोकिएको छ ।