समाचार

आजको मौसम



काठमाडौँ, ७ फागुन । नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार अहिले कर्णाली, सुदूरपश्चिम, गण्डकी र लुम्बिनी प्रदेशमा साधरणतया बादल लागेको छ भने बाँकी पहाडी क्षेत्रमा आंशिक बादल तथा अन्य भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।

आज दिउँसो देशका हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भूभागको थोरै स्थान तथा बाँकी पहाडी र हिमाली भूभागको एकदुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ । तराई भूभागका थोरै स्थानमा बिहानको समयमा हुस्सु तथा कुहिरो रहनेछ ।

त्यस्तै आज राति कोशी र बागमती प्रदेश लगायत बाँकी हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ। मधेस प्रदेश लगायत बाँकी पहाडी भूभागमा आंशिक बादल लाग्नेछ र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ ।