समाचार

छात्रालाई यौन दुर्व्यवहार गर्ने शिक्षक पक्राउ



काठमाडौँ, १० फागुन । खोटाङमा १३ वर्षीया छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन् ।

प्रहरीका अनुसार सोलुखुम्बु थुलुङ दुधकोसी गाउँपालिका–१ का २४ वर्षीय आरोपित शिक्षक दिक्तेल इंलिस बोर्डिङ स्कुलका हुन् ।

उनले फागुन ९ गते गृहकार्य सिकाइदिने बाहनामा छात्रालाई आफ्नै कोठामा बोलाएर जबरजस्ती करणी गरेको आरोप छ । त्यसपछि पनि उनले बालिकालाई तीन घण्टासम्म कोठामा थुनेर राखेको पीडित परिवारको भनाइ छ ।

पीडित बालिका रुँदै कोठामा पुगेपछि मात्रै अभिभावकले घटनाबारे जानकारी पाएका थिए । त्यसपछि पीडित बालिकाका बुवा र काका पीडकको कोठामा पुगेर नियन्त्रणमा लिई प्रहरीको जिम्मा लगाएका थिए ।

बालिकाको स्वास्थ्य परीक्षणपछि राति ११ बजे शिक्षकविरुद्ध जिल्ला प्रहरी कार्यालयमा जबरजस्ती करणी अन्तर्गतको जाहेरी दर्ता गरिएको छ । ती शिक्षकले गत मंसिरमा आयोजना गरिएको शैक्षिक भ्रमणमा गएदेखि नै छात्रालाई केही सिकाउने बाहनामा बोलाउने र अश्लील गतिविधि गर्ने गरेको पीडित परिवारको भनाइ छ ।