समाचार

करोडौँ ठगी गर्ने गिरोह झापाबाट पक्राउ



काठमाडौँ, १४ फागुन । सरकारी छाप, दस्तखत किर्ते गरी संगठित रूपमा ठगी धन्दा चलाउने एउटा ठूलो गिरोहलाई झापा प्रहरीले नियन्त्रणमा लिएको छ ।

भद्रपुर नगरपालिका वडा नं. ८ को एयरपोर्ट–घोडामारा सडकखण्डबाट दुईवटा भारतीय विलासी गाडीसहित ६ जना भारतीय र एक जना नेपाली नागरिक पक्राउ परेका हुन् ।

सशस्त्र प्रहरी बलको टोलीले शंकास्पद अवस्थामा चन्द्रगढीबाट काँकडभिट्टातर्फ जाँदै गरेका डब्लूबी ०६ एक्स ०३०० नम्बरको टोयोटा फर्च्युनर र डब्लूबी ०६ यू ३००६ नम्बरको सुजुकी बलेनो गाडीलाई चेकजाँच गर्दा यो गिरोह पक्राउ परेका हुन् ।

पक्राउ परेकामध्ये अरिन्दम धरको साथबाट आन्तरिक राजस्व विभागको नक्कली दर्ता प्रमाणपत्र, कर चुक्ता प्रमाणपत्र, भन्सार विभागको कागज र नेपाल सरकारको निशाना छाप भएको स्ट्याम्प प्याड बरामद भएको छ । गिरोहका सदस्य सुमन सरकारको साथबाट संजय कुमार गिरी को नाममा बनाइएको नेपाल प्रहरीको प्रहरी वरिष्ठ नायव निरीक्षक (सई) को नक्कली परिचयपत्र समेत फेला परेको छ ।