समाचार

आजको मौसम



काठमाडौँ, २६ चैत । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार अहिले बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, कोशी प्रदेशका पहाडी भागका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो कोशी प्रदेशलगायत देशका पहाडी तथा हिमाली भागमा साधारणतया बदली रहने तथा बाँकी भागमा आंशिक बदली रहने जनाइएको छ । कोशी प्रदेशसहित देशका पहाडी तथा हिमाली भागका केही स्थानका साथै मधेश प्रदेशका केही स्थानमा हावाहुरीसहित मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।

त्यस्तै आज राति कोशी प्रदेशलगायत देशका हिमाली भागमा साधारणतया बदली रहने, बाँकी पहाडी भागमा आंशिक बदली रहने तथा तराई भेगमा मुख्यतया मौसम सफा रहने छ । कोशी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भागका केही स्थान तथा अन्य हिमाली भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना छ ।

वर्षा तथा हिमपातको सम्भावना रहेका स्थानका सर्वसाधारण तथा ती भेगमा यातायातका साधन सञ्चालनकर्तालगायत सम्बद्ध सबैलाई सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।