अर्थ

सरकारले तोक्यो गहुँ र धानको न्यूनतम समर्थन मूल्य



काठमाडौँ, २९ चैत । सरकारले चालु आर्थिक वर्षका लागि गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्य तोकेको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गत वर्षको तुलनामा दुवै बालीको मूल्यमा वृद्धि गरेको हो।

मन्त्रालयका अनुसार गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ९ सय ४५ रुपैयाँ कायम गरिएको छ, जुन गत वर्षभन्दा ७७ रुपैयाँ ६२ पैसाले बढी हो । त्यस्तै, चैते धानको मूल्य प्रतिक्विन्टल २ हजार ८ सय ५६ रुपैयाँ ४९ पैसा तोकिएको छ, जुन गत वर्षको तुलनामा ५५ रुपैयाँ ८ पैसाले बढी हो ।

गत वर्षमा गहुँको मूल्य ३ हजार ८ सय ६७ रुपैयाँ ३८ पैसा प्रतिक्विन्टल र चैते धान २ हजार ८ सय रुपैयाँ ६९ पैसा प्रतिक्विटल थियो । मन्त्रालयका अनुसार चैते धानको यो समर्थन मूल्य १८ प्रतिशत चिस्यान भएको धानमा लागू हुनेछ । यदि धानमा चिस्यानको मात्रा १८ प्रतिशतभन्दा बढी पाइएमा प्रतिक्विन्टल १ किलो २ सय ग्रामका दरले तौल घटाएर भुक्तानी दिइने व्यवस्था गरिएको छ ।