समाचार

टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु



काठमाडौँ, ३० चैत । मदन भण्डारी लोकमार्ग अन्तर्गत उदयपुरको त्रियुगा नगरपालिका–९ राजाबासमा टिपरको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ।

प्रहरीका अनुसार बिहान करिब ९:३० बजे झिल्केटोलबाट राजाबासतर्फ जाँदै गरेको स १० प ४७१७ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको बा ५ ख ६१७ नम्बरको टिपरले ठक्कर दिएको थियो । दुर्घटनामा त्रियुगा नगरपालिका–९ डाँडाटोल बस्ने ३५ वर्षीय हरि दनुवार गम्भीर घाइते भएका थिए ।

घाइते दनुवारलाई तत्काल उपचारका लागि जिल्ला अस्पताल उदयपुर लगिएकोमा अस्पताल पुर्‍याउनासाथ बिहान ९:५० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

प्रहरीले टिपर चालक त्रियुगा नगरपालिका–७ होक्से बस्ने २८ वर्षीय आशिष माझी र दुर्घटनामा परेका दुवै सवारी साधनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरेको जनाएको छ ।