काठमाडौँ, ३ बैशाख । मधेस प्रदेशकी उपसभामुख रुवि कुमारी ठाकुरले अबदेखि दाइजो लेनदेन हुने कुनै पनि विवाहमा आफू सहभागी नहुने घोषणा गरेकी छन् ।
विवाहको सिजन चलिरहँदा आफूले प्राप्त गरेका निमन्त्रणापत्रहरूमा ‘दहेज मुक्त विवाह’ भन्ने उल्लेख नगरिएको भन्दै उनले सामाजिक सञ्जालमार्फत गम्भीर असन्तुष्टि व्यक्त गरेकी हुन्।
समाज अझै पनि दाइजो जस्तो घातक कुरीतिबाट मुक्त हुन नसकेकोमा चिन्ता प्रकट गर्दै उनले अबदेखि दाइजो लेनदेन हुने कुनै पनि विवाहमा आफू सहभागी नहुने घोषणा समेत गरेकी छन्।
उपसभामुख ठाकुरले दाइजो लिनु र दिनु मात्र नभई यस्तो लेनदेनमा आधारित विवाहलाई स्वीकार गर्नु, कार्यक्रममा सहभागी हुनु वा भोज ग्रहण गर्नु पनि सामाजिक रूपमा अस्वीकार्य र कानुनी रूपमा दण्डनीय अभ्यास भएको बताएकी छन्। यस्तो प्रथाले महिलाको सम्मान, समानता र अधिकारमाथि प्रत्यक्ष आघात पुर्याउने उनको तर्क छ।










प्रतिक्रिया दिनुहोस्