राजनीति

जलवायु परिवर्तनबाट नेपाल अत्यधिक प्रभावित छ : अध्यक्ष दाहाल



काठमाडौँ, ३ बैशाख । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले जलवायु परिवर्तनका कारण सहरहरू दिनानुदिन जोखिमयुक्त बन्दै गएको बताएका छन् ।

अन्तर-व्यवस्थापिका संघको १५२ औँ महासभामा भाग लिन टर्कीको इस्तानबुलमा रहेका दाहालले जलवायु–अनुकूलनशील सहरीकरण सुनिश्चित गर्न संसदहरूको भूमिका महत्वपूर्ण हुने पनि आग्रह गरेका छन् ।

दाहालले असंलग्न आन्दोलनसंसदीय सञ्जालको पाँचौँ सम्मेलनलाई सम्बोधन गर्दै दक्षिण एशिया विशेषगरी नेपाल जलवायु परिवर्तनबाट अत्यधिक प्रभावित क्षेत्र रहेको पनि बताए ।

हिमाली देशको रूपमा नेपालको वातावरणीय प्रणाली संवेदनशील रहेको भन्दै उनले बाढी, पहिरो र कृषि क्षेत्रमा परेको असरले जलवायु संकटको गम्भीरता झल्काएको उल्लेख गरे ।

राजधानी काठमाडौँले अव्यवस्थित सहरीकरण, वायु प्रदूषण, भूमिगत पानीको घट्दो सतह र चरम मौसमी घटनाहरूको जोखिम भोगिरहेको उल्लेख गर्दै अध्यक्ष दाहालले जलवायु–अनुकूलनशील सहरीकरण नेपालका लागि विकल्प नभई अनिवार्य आवश्यकता भएको बताए ।