काठमाडौँ, ४ बैशाख । संसदीय समितिका सभापतिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
आज सिंहदरबारमा आयोजित एक कार्यक्रममा सभामुख डोलप्रसाद (डीपी) अर्यालले उनीहरूलाई शपथ गराएका हुन् ।
आजनै १२ समिति सभापति चयन भएका हुन् । ११ समिति सभापतिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद चुनिएका छन् । रास्वपाले उमेदवारी नदिएको र प्रतिपक्षलाई दिने परम्परा रहेको सार्वजनिक लेखा समिति सभापतिमा भने नेपाली कांग्रेसका भरत खड्का निर्वाचित भएका छन् ।
कानुन, न्याय तथा मानव अधिकार समितिमा समिक्षा बास्कोटा, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा अशोककुमार चौधरी, पूर्वाधार विकास समिति सभापतिमा आशिष गजुरेल निर्वाचित भए ।
महिला तथा सामाजिक मामिला समितिमा आकृति अवस्थी, राज्यव्यवस्था तथा सुशासन समितिमा हरि ढकाल, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापतिमा डा. ओजस्वी शेरचन निर्वाचित भए ।
अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा सुम्नीमा उदास, अर्थमा कृष्णहरि बुढाथोकी, उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति सभापतिमा रहबर अन्सारी निर्वाचित भए ।
संघीय संसद्अन्तर्गतका दुई संयुक्तमध्ये एक रहेको संसदीय सुनुवाइ समिति सभापतिमा वोधनारायण श्रेष्ठ निर्वाचित भए । अर्को, राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समिति सभापतिमा गणेश कार्की निर्वाचित भए । समितिका नवनिर्वाचित यी सभापतिले शपथ लिएका हुन् ।










प्रतिक्रिया दिनुहोस्