राजनीति

अब विद्यार्थीले घरबाटै एनओसी लिन सक्ने



काठमाडौँ, ६ बैशाख । वैदेशिक अध्ययनमा जाने विद्यार्थीले अब घरबाटै वैदेशिक अध्ययन अनुमतिपत्र ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) लिन सक्ने भएका छन् । 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको सानोठिमीस्थित एनओसी शाखाले एनओसी सर्टिफिकेटलाई फेसलेस बनाउन एनओसी अनलाइन पोर्टल र त्रिभुवन विश्वविद्यालय (त्रिवि) तथा काठमाडौं विश्वविद्यालय (केयू)बीच एपीआई गर्ने काम सम्पन्न गरेको हो ।

यस सम्बन्धमा वैशाख ४ गते त्रिविसँग सम्झौता भएको छ भने केयूसँग यसअघि नै सम्झौता भइसकेको छ । 

योसँगै विद्यार्थीले घरमै बसेर अनलाइनमार्फत एनओसीका लागि आवेदन दिन सक्नेछन् । साथै, सबै प्रक्रिया पूरा भएपछि आफ्नो प्रमाणपत्र आफैँले प्रिन्ट गरी प्रयोग गर्न सक्ने व्यवस्था गरिएको छ ।

दुवै विश्वविद्यालयसँग अन्तरआबद्धता हुनुअगाडि आवेदन दिइसकेपछि अन्तरआबद्धता भएको सिस्टमबाट प्रमाणपत्र देखिएमा विवरण रुजु गर्न भौतिक रूपमा कार्यालयमा उपस्थित हुनुपर्ने छैन । 

आवेदकले राखेको नागरिकताको विवरण गृह मन्त्रालयसँग अन्तरआबद्धता भएको ‘सिटिजन इन्फरमेसन म्यानेजमेन्ट’ (सीआईएमएस)मा भेटिएको अवस्थामा र आवेदकले राखेको एनईबीको रजिस्ट्रेसन नम्बर, जन्ममिति विवरणका आधारमा एनईबीसँग अन्तरआबद्धता भएको सिस्टमबाट प्रमाणपत्र देखिनेछ । 

तर, फेसलेस बनाउँदा आवेदकले स्नातकोत्तर वा सोभन्दा माथि अध्ययन गर्न जाँदाको हकमा आवेदनमा विश्वविद्यालयको सर्टिफिकेट राख्नुपर्ने र विश्वविद्यालयका प्रणालीसँग अन्तरआबद्धता नभएकाले आवेदक सर्टिफिकेट विवरण रुजु गर्न भौतिक रूपमा कार्यालयमा उपस्थित हुनुपर्ने अवस्था थियो ।

महालेखा नियन्त्रकको कार्यालयको ‘रेभिन्यू इन्फरमेसन क्यासलेस म्यानेजमेन्ट सिस्टम’ (रिमास)सँग अन्तरआबद्धता भएकाले एनओसीको राजस्व पूर्ण रूपमा अनलाइनमार्फत लिइएको छ ।

एप्रुभ भएको एनओसी सर्टिफिकेट आवेदकले आफ्नै प्रोफाइलबाट पेपरलेस डाउनलोड गर्न सक्नेछन् । सर्टिफिकेटमा क्युआर कोड भएकाले क्युआर स्क्यानरबाट हेर्न सकिनेछ । त्रिवि र केयूसँग अन्तरआबद्धता भएपछि आवेदकले विवरणहरू रुजु गर्न भौतिक रूपमा कार्यालयमा उपस्थित हुनु नपर्ने एनओसी शाखाले जनाएको छ ।