काठमाडौँ, १५ जेठ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले उदारवादी आदर्श, समावेशिता, समानता र न्यायका आधारमा लोकतन्त्रलाई अझ जीवन्त बनाउन दृढ सङ्कल्पका साथ अघि बढ्नुपर्ने आवश्यकता औँल्याएका छन् ।
गणतन्त्र दिवस, २०८३ का अवसरमा आज शुभकामना व्यक्त गर्दै उनले वञ्चित, उत्पीडित, उपेक्षित समुदायको सक्रिय सहभागिताबिना कुनै पनि गणतन्त्र बलियो र स्थायी हुन सक्दैन भन्ने गहिरो सत्यलाई हामीले सदैव सम्मान गर्न सक्नुपर्ने उनको भनाइ छ । ‘गणतन्त्र दिवस’ हाम्रा लागि उत्सव मात्र नभई आत्ममूल्याङ्कनको अवसर पनि भएको उल्लेख गर्दै उपराष्ट्रपति यादवले जनअपेक्षाअनुरूप संवेदनशील शासन प्रणाली निर्माण गर्न सक्यौँ वा सकेनौँ भन्ने प्रश्नको उत्तर खोज्ने दिन भएको बताएका छन् ।
उनले भनेका छन्, “गणतन्त्र जनताको शासन प्रणाली हो, जहाँ सम्पूर्ण शक्ति जनतामा निहित हुन्छ, जनताद्वारा निर्वाचित जनप्रतिनिधिले जनताप्रति आफ्नो जिम्मेवारी निर्वाह गर्नु नै गणतन्त्रको मूल मर्म हो, संविधानले दिएको अधिकार र कर्तव्यलाई समान रूपमा आत्मसात् गर्दै अघि बढ्न सके मात्र हाम्रो सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था सबल, सुदृढ र जीवन्त रहन सक्छ ।”
उपराष्ट्रपति यादवले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको स्थापना नेपाली जनताको दीर्घ सङ्घर्ष, ऐतिहासिक जनआन्दोलन, सशस्त्र सङ्घर्ष, मधेस जनविद्रोह तथा असङ्ख्य सहिदहरूको अमूल्य बलिदानको परिणामबाट भएको पनि उल्लेख गरेका छन् ।
उनले भने, “नेपालको गौरवशाली परम्परा, सांस्कृतिक विविधता, राष्ट्रिय उपलब्धि र प्रगतिलाई उजागर गर्ने अवसरका रूपमा गणतन्त्र दिवसलाई मनाउन सकियोस्, लोकतन्त्र, सङ्घीयता, समावेशिता र संविधानका महान् उपलब्धिहरूको रक्षा गर्दै राष्ट्रिय एकता र अखण्डतालाई सबल बनाउन यो दिवसले हामी सबैलाई प्रेरणा प्रदान गरोस्, गणतन्त्र दिवसका अवसरमा पुनः हार्दिक बधाईसहित शुभकामना व्यक्त गर्दछु ।”










प्रतिक्रिया दिनुहोस्