राजनीति

गणतन्त्र नेपाली जनताको साझा उपलब्धी हो: पूर्वप्रधानमन्त्री प्रचण्ड



काठमाडौँ, १५ जेठ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधानको मूल मर्मबाट पछि हट्ने छुट कसैलाई नभएको बताएका छन् । 

गणतन्त्र दिवसको अवसरमा एक शुभकामना सन्देश जारी गर्दै उनले संविधानको मूल मर्मबाट पछि हट्ने वा यसका मूल्य, मान्यता र उपलब्धीमाथि सम्झौता गर्ने छुट कसैलाई नभएको बताए । गणतन्त्रको विकल्प अझ समुन्नत गणतन्त्र नै भएको उल्लेख गर्दै उनले त्यसका लागि समावेशी, पूर्ण समानुपातिक व्यवस्था सुनिश्चित गर्दै उपेक्षित, उत्पीडित वर्ग, समुदाय र क्षेत्रका अधिकारलाई झनै मजबुत बनाउनु अपरिहार्य रहेको बताए ।

उनले भनेका छन्, ‘नेपालको संविधानले सुनिश्चित गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्र विभिन्न कालखण्डमा नेपाली जनताले गरेको लामो सङ्घर्ष, हजारौँ सहिदहरूको बलिदान, त्याग र समर्पणको ऐतिहासिक उपलब्धी हो । यो व्यवस्था कुनै व्यक्ति वा दलको नभएर परिवर्तनका आकाङ्क्षी सम्पूर्ण नेपाली जनताको साझा उपलब्धि हो । तसर्थ, संविधानको मूल मर्मबाट पछि हट्ने वा यसका मूल्य, मान्यता र उपलब्धीमाथि सम्झौता गर्ने छुट कसैलाई छैन ।’

देशलाई राजनीतिक स्थायित्व, सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धितर्फ अघि बढाउन सबै राजनीतिक शक्ति र आम नागरिकबिच एकता आवश्यक रहेको पनि उनले बताएका छन् । सामाजिक न्यायसहितको समृद्धिमार्फत समाजवादी नेपाल निर्माण गर्नु साझा राष्ट्रिय सङ्कल्प हुनुपर्ने उनले बताए ।