काठमाडौँ, १५ जेठ । परराष्ट्र मन्त्रालयले विभिन्न मुलुकका लागि रिक्त नेपालको राजदूत पदमा आवेदन तथा सिफारिस आह्वान गरेको छ ।
मुलुकको परराष्ट्र नीति, अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीतिको प्रभावकारी सञ्चालन तथा प्रवर्द्धन गर्न मन्त्रालयले योग्य र इच्छुक नेपाली नागरिकबाट दरखास्त मागेको हो ।
मन्त्रालयका अनुसार इच्छुक उम्मेदवार आफैँले दरखास्त पेस गर्न वा अन्य कुनै व्यक्ति तथा निकायले योग्य उम्मेदवारको नाम सिफारिस गर्न सक्ने व्यवस्था गरिएको छ । आवेदन दिने अन्तिम म्याद आगामी जेठ २२ गते अपराह्न ५ बजेसम्मका लागि तोकिएको छ ।
राजदूत बन्नका लागि मन्त्रालयले कडा न्यूनतम योग्यता र सर्तहरू निर्धारण गरेको छ । राजदूत नियुक्तिसम्बन्धी निर्देशिका, २०७५ अनुसार उम्मेदवार कम्तीमा ३५ वर्ष उमेर पूरा भएको नेपाली नागरिक हुनुपर्नेछ । शैक्षिक योग्यताको हकमा नेपाल सरकारबाट मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्ने अनिवार्य व्यवस्था छ ।
उम्मेदवारको पृष्ठभूमि र नैतिक आचरणलाई पनि मन्त्रालयले प्राथमिकतामा राखेको छ । सरकारी सेवाबाट बर्खास्त नभएको, भविष्यमा सरकारी सेवाका लागि अयोग्य ठहर नभएको र भ्रष्टाचार वा नैतिक पतन देखिने फौजदारी कसुरमा अदालतबाट सजाय नपाएको व्यक्ति मात्र राजदूतका लागि योग्य मानिनेछ । उम्मेदवार उच्च नैतिक चरित्र भएको, नेपाल सरकार वा अन्तर्राष्ट्रिय निकायको कालोसूचीमा नपरेको र प्रस्तावित मुलुकमा कुनै पनि प्रकारको स्वार्थ नबाझिएको हुनुपर्नेछ ।









प्रतिक्रिया दिनुहोस्