राजनीति

दुई वर्ष नाघेका मुद्दा असार मसान्तभित्र सक्न प्रधानन्यायाधीशको निर्देशन



काठमाडौँ, १९ जेठ । प्रधानन्यायाशीश डा.मनोज शर्माले अदालतभित्र हुने बेथिती रोक्न र आगामी असार मसान्तभित्र दुई वर्ष नाघेका मुद्दाहरु बाँकी नराख्न मातहतका अदालतहरुमा निर्देशन दिएका छन् ।

प्रधानन्यायाधीश शर्माले उच्च अदालतका मुख्य न्यायाधीशहरु र जिल्ला अदालतका प्रमुख न्यायाधीशहरुलाई लिखित परिपत्र जारी गर्दै सो निर्देशन दिएका हुन् ।

शर्माले भनेका छन्, ‘पुराना बक्यौता मुद्दाको फर्छ्यौटलाई विशेष प्राथमिकता र संवेदनशीलताका साथ लिई यस आर्थिक वर्षको अन्तसम्म दुई वर्ष नाघेका मुद्दाहरू र २०८३ पौष मसान्तसम्ममा अठार महिना नाघेका मुद्दाहरू शून्यमा ल्याउने गरी कार्य सम्पादन गराउनुहोला ।’

उनले समयमा पेशीसूची प्रकाशित गर्न, त्यसो हुन नसकेमा कारण सहित सूचना निकाल्न र मुद्दाको सुनुवाइ गर्न समयमा नै इजलास बस्ने व्यवस्था गर्न पनि निर्देशन दिएका छन् । विभिन्न कारणले मुद्दाको सुनुवाइ रोकिने अवस्था घटाउन आग्रह गर्दै उनले समन्वयबाट काम अघि बढाउन भनेका छन् । उनले आफू कार्यरत र मातहतका अदालतमा हुनसक्ने विकृती, विसंगति, अनियमितता र बिचौलियाजन्य क्रियाकलाप रोक्न भनेका छन् । निर्देशनमा ‘अदालत प्रवेश, मुद्दा व्यवस्थापन, म्याद तामेली, पेशी, फैसला तयारी, फैसला कार्यान्वयन, अभिलेख तथा सेवा प्रवाहका प्रत्येक चरणमा सूक्ष्म निगरानी गर्नु’ भन्ने उल्लेख छ ।

उनले अदालतभित्र आउने सेवाग्राही, कानून व्यवसायी र सरोकारवालाहरुको गुनासो सुन्ने संयन्त्र बनाउन निर्देशन दिएका छन् ।