काठमाडौँ, १९ जेठ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ)ले देशका विषयमा पार्टी, जाति, धर्म र सत्ता–प्रतिपक्ष केही पनि नहुने बताएका छन् ।
आज प्रतिनिधिसभा बैठकमा उनले देशको सार्वभौमसत्ता र अखण्डतामा सत्ता र प्रतिपक्ष भएर उपस्थित हुनै नमिल्ने बताए । उनले भने, “हामी सबै नेपाली, हामी सबैको नेपाल । पार्टी, जाति, धर्म वर्गभन्दा माथि हुन्छ देश,” “त्यसकारण यहाँ सत्तापक्ष र विपक्ष, प्रतिपक्ष भन्ने छैन । देशको सिमाना, देशको अखण्डता, देशको सार्वभौमसत्ता जोगाउने हो, यसमा हामी सबै सांसदहरूको एउटै माग हुन जरुरी छ ।”
उनले आइतबार संसद् बैठकमा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले दिएको नेपाल–भारत सीमासम्बन्धी अभिव्यक्ति सच्याउनुपर्नेमा जोड दिए । त्यसनिम्ति प्रधानमन्त्री सदनमा उपस्थित हुनुपर्ने उनले बताए ।
“प्रधानमन्त्रीजस्तो सरकारको प्रमुख व्यक्तिले जुन १७ गते राख्नुभएको अभिव्यक्ति छ, अविलम्ब सच्याउनुपर्छ,” पार्टी संसदीय दलका नेता समेत रहेका राईले भने, “प्रधानमन्त्रीज्यू यहाँ उपस्थित हुनुपर्छ भन्ने माग राख्दछु ।”










प्रतिक्रिया दिनुहोस्