राजनीति

विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति यादव



काठमाडौँ, २१ जेठ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार भएको उल्लेख गरेका छन् ।

जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवस, २०८३ का अवसरमा आज सम्पूर्ण नेपालीहरूमा शुभकामना व्यक्त गर्दै उनले गर्दै यसतर्फ सबै पक्ष सचेत हुन उत्तिकै अपरिहार्य रहेको बताए । उपराष्ट्रपति यादवले सामाजिक न्याय, समानता र मानवअधिकार सुनिश्चितताका लागि यो एउटा महत्त्वपूर्ण दिवस भएको उल्लेख गर्दै प्रत्येक नागरिकले समान अवसर पाउनु र सम्मानका साथ बाँच्न पाउनु नै सभ्य समाजको आधार भएको बताए ।

उनले भनेका छन्, “नेपालको संविधानले यसलाई दण्डनीय अपराधका रूपमा परिभाषित गर्दै सबै नागरिकलाई समान अधिकार र अवसर प्रत्याभूत गरेको छ तर, कानुनी व्यवस्था मात्रले पुग्दैन, सामाजिक चेतना, सांस्कृतिक रुपान्तरण, शिक्षा र नागरिक सक्रियता पनि उत्तिकै आवश्यक छ ।”

जातीय भेदभाव र छुवाछूतका कारण विगतमा धेरै समुदाय शिक्षा, रोजगारी, आर्थिक अवसर र सामाजिक सहभागिताबाट वञ्चित रहँदै आएको उल्लेख गर्दै उनले संविधानले प्रत्याभूत गरेको अर्को ऐतिहासिक पाटो बहुजातीय, बहुभाषिक तथा बहुसांस्कृतिक विशेषतालाई आत्मसात् गरी जातीय छुवाछूत अन्त्य गरी समतामूलक समाज निर्माण गर्ने सङ्कल्पसहित अघि बढ्नु आजको आवश्यकता भएको बताए ।