समाचार

करेन्ट लागेर एक जनाको मृत्यु



काठमाडौँ, २५ जेठ । गुल्मीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार मालिका गाउँपालिका–३ ह्वाङ्दीमा विद्युत् मर्मतका क्रममा करेन्ट लागेर घाइते भएका नेपाल विद्युत् प्राधिकरण गुल्मीका एक कर्मचारीको उपचारको क्रममा मृत्यु भएको हो । मृत्यु हुनेमा मालिका गाउँपालिका–५ छापाहिले निवासी ३० वर्षीय सूर्यबहादुर थापा रहेका छन् ।

आइतबार दिउँसो करिब साढे २ बजे विद्युतको पोलमा चढेर मर्मत कार्य गरिरहेका बेला उनलाई अचानक करेन्ट लागेको थियो । करेन्ट लागेपछि थापा पोलबाट करिब ५०० मिटर तल रहेको भिरतर्फ खस्न जाँदा गम्भीर घाइते भएका थिए ।

प्रहरी चौकी अर्खाबाङबाट खटिएको प्रहरी टोलीले उद्धार गरी उनलाई उपचारका लागि जिल्ला अस्पताल तम्घास पठाएको थियो ।

तर उपचारको क्रममा साँझ करिब ६ः५० बजे उनको मृत्यु भएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको छ भने मृतकको शव जिल्ला अस्पताल तम्घासमा राखिएको छ ।