Banner News

लागुऔषध नियन्त्रणका लागि कानुनी कारबाही मात्र पर्याप्त छैन : सांसद अर्याल



काठमाडौँ, २८ जेठ । नेकपा (एमाले) की सांसद पद्मा अर्यालले मुलुकमा विकराल बन्दै गएको लागुऔषध दुर्व्यसनीको समस्या नियन्त्रणका लागि केवल कानुनी कारबाही र पक्राउ मात्र पर्याप्त नभएको बताएकी छन्। 

आज बसेको प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यो समस्या समाधानका लागि व्यापक जनचेतना र पर्याप्त बजेटको व्यवस्था हुनुपर्नेमा विशेष जोड दिइन्।

उनले भनिन्, ‘लागुऔषध नियन्त्रणको क्षेत्रमा राज्यको ध्यान पर्याप्त मात्रामा पुग्न सकेको छैन । समितिले हालसम्म भएका काम–कारबाहीको प्रभावकारिताको अनुगमन र समीक्षा गर्न जरुरी छ । कारबाहीले मात्रै नियन्त्रण सम्भव छैन। यसका लागि जनचेतनामूलक कार्यक्रम, परामर्श र प्रभावकारी पुनर्स्थापना केन्द्रको आवश्यकता पर्छ । पुनर्स्थापनापछि नागरिक असल भएर समाजमा फर्किने वातावरण निर्माण गरिनुपर्छ ।’