राजनीति

नदी प्रदूषित गर्ने उद्योगलाई कारबाही गर्ने मन्त्रालयको चेतावनी



काठमाडौँ, २९ जेठ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सिर्सिया नदी कोरिडोरमा सञ्चालित उद्योगहरूले मापदण्डविपरीत फोहोर पानी सिधै नदीमा विसर्जन गरी प्रदूषण फैलाएको भन्दै कडाभन्दा कडा कारबाही गरिने चेतावनी दिएको छ ।

मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै उक्त क्षेत्रका उद्योगहरूबाट फोहोर पानी प्रशोधन नगरी नदी र खोलामा मिसाइएको सम्बन्धमा विभिन्न माध्यमबाट गुनासो र उजुरी प्राप्त भएको तथा सञ्चार माध्यममा समेत सो विषय आएकाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

यदि औद्योगिक तथा वातावरणीय मापदण्डको पूर्ण परिपालना नगरेको पाइएमा प्रचलित कानुन बमोजिम उद्योग विभाग र अन्य सम्बद्ध निकायहरूबाट मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । नदी र खोला प्रदूषण गरिनु आधारभूत मानव स्वास्थ्यको दृष्टिले समेत गम्भीर सवाल रहेको मन्त्रालयको ठहर छ। विज्ञप्तिमा भनिएको छ, ‘सम्पूर्ण उद्योग प्रतिष्ठानहरूले प्रचलित औद्योगिक तथा वातावरणीय सम्बन्धी कानुन र मापदण्डको पूर्ण परिपालना गरी उद्योग सञ्चालन गर्नुहुन मन्त्रालय अनुरोध गर्दछ।’