राजनीति

सूनपा–९ मा सार्वजनिक सुनुवाई सम्पन्न



भक्तपुर, २९ जेठ । जनताको चासो, गुनासो र सुझाव संकलन गरी जनअपेक्षा अनुसार विकास र समृद्धिसँगै सार्वजनिक सेवा प्रवाहको कार्यसम्पादन गर्ने लक्ष्यका साथ सूर्यविनायक नगरपालिका वडा नं. ९ मा वडास्तरीय सार्वजनिक सुनुवाई सम्पन्न भएको छ ।

राष्ट्रिय सञ्चार केन्द्र नेपालको आयोजना तथा सूर्यविनायक नगरपालिकाको सहकार्यमा आज वडा कार्यालयको सभाहलमा भएको कार्यक्रममा जनप्रतिनिधिले निर्वाचित भएपछि हालसम्म भए गरेका सार्वजनिक सेवा प्रवाहको साथै भौतिक, सामाजिक, धार्मिक, साँस्कृतिक तथा पर्यावरणीय विकासको बारेमा व्यापक छलफल तथा आगामी योजनाको बारेमा विस्तृतमा छलफल गरिएको छ ।

कार्यक्रममा बोल्दै वडा सचिव अच्युतम खत्रीले वडाबाट हुने गरेका प्रशासनिक सेवा प्रवाह तथा राजस्वको बारेमा जानकारी गराउनुभयो । सहज र सुलभ सेवा प्रवाह गर्न वडा जहिले पनि जनताको पक्षमा रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘चालु आर्थिक वर्षमा वडामा रु ८३ लाख ९० हजार तीन सय चार रुपैया राजस्व संकलन भएको छ । तीनवटै तहका सरकारको समन्वयमा जनताको जीवनशैलीमा सुधार आउने गरी सेवा प्रवाह गरिरहेका छौं ।’

कार्यक्रममा सहभागीहरुले खानेपानी व्यवस्थापन, सामाजिक सद्भाव, शिक्षा–स्वास्थ्यमा बजेट थप, भौतिक विकासमात्र नभई बौद्धिक चेतनाको विकास गर्ने योजना, उपभोक्ता समितिले सार्वजनिक खरिद ऐन पालना गर्नुपर्ने, भौतिक विकासको काम र कार्यान्वयनमा सामान्जस्यता हुनुपर्ने, गरिव तथा कृषि क्षेत्रमा काँक्रावारीका जनताले के पाए ?, विद्यालयको भौतिक विकास, विकासमा पक्ष विपक्ष हुनु नहुने, सडक मर्मत तथा कामलाई निर्धारित समयमा नै हुनुपर्ने, सामुदायीक विद्यालयमा विद्यार्थी बढाउने प्रकारका रणनीतिक योजना बनाउनुपर्ने, विद्यालय मर्ज गर्ने उचित समय मिलाउनुपर्ने लगायतका प्रश्न, गुनासो तथा सुझवाहरु दिएका थिए ।

जवाफमा वडाध्यक्ष भगवान खत्रीले वडा नं. ८ पहाड तथा सम्म दुवै भाग भएकाले सिमित स्रोत र साधनले अपेक्षाकृत कार्य गर्न नसकिएता पनि जनताको न्यनतम् माग र आवश्यकतालाई पुरा गर्दै लगिएको दावी गर्नुभयो । वडामा सडक, खानेपानी, स्वास्थ्य, शिक्षा लगायतका क्षेत्रहरुमा विशेष समस्या रहेको उल्लेख गर्दै उहाँले स्थानीयवासीको साथ र सहयोगले भौतिक पूर्वाधार तथा सामाजिक कार्यको साथमा प्रशासनिक सेवा प्रवाहलाई जनमैत्री बनाउन सफल भएको दावी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘तीनवटै तहका सरकारको समन्वय र बजेटमा शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, मठमन्दिर निर्माण गरिएको छ । सूर्यविनायक नगरपालिकाकै कर्णालीको रुपमा रहेको काँक्रावारी रातोमाटे सडकमा ३० करोडको क्रमागत योजनामा सडक निर्माण भइरहेको छ । अन्य केहि सडकहरुको बजेट समेत बजेट कटौती भएकाले सडक निर्माणमा रोकिएको छ । काँक्रावारीकै सरस्वती माविमा गाडीको व्यवस्थापन गरिएको छ । पलासे–डोलेश्वर सडक पर्यटकीय सडक जेनजी आन्दोलनपछि बजेट कटौती भएकाले निर्माणमा समस्या उत्पन्न भएको छ । त्यसलाई अन्य विकल्पसहित निर्माण कार्य अगाडी बढाउने योजना बनाइरहेका छौं । त्यसैले विकास व्यक्ति होइन, समुदाय केन्द्रीत हुुनुपर्छ ।’

भुवनेश्वर माविको भौतिक विकासको लागि दुई रोपनी चार आना जग्गा व्यवस्थापन गरिएको जानकारी गराउँदै उहाँले उक्त जग्गामा आवश्यक भवनहरु निर्माण गरिने प्रतिवद्धता जनाउनुभयो । शान्ति भैरव विद्यालयमा वालवालिकाको लागि रंगमञ्च निर्माण भइरहेको उल्लेख गर्दै उहाँले नगरस्तरीय खेलमैदान बनाउने प्रकृया समेत अगाडी बढेको जानकारी गराउनुभयो ।
आयोजक एनएमसीका अध्यक्ष पेशलकुमार आचार्यको सभापतित्वमा भएको कार्यक्रममा संस्थाका उपाध्यक्ष तथा कार्यक्रम संयोजक पुस्करराज बुढाथोकीले स्वागत मन्तब्य राख्नुभयो । त्यस्तै कार्यक्रममा अतिथिको रुपमा वडा जनप्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको साथमा स्थानीयवासीको उपस्थिती रहेको थियो ।