काठमाडौँ, ३० जेठ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले पार्टी शुद्धीकरण, सुदृढीकरण, रूपान्तरण तथा पुनर्गठनका लागि गठन गरिएको कार्यदलमार्फत प्रदेशस्तरबाट सुझाव संकलन सुरु गरेको छ ।
गत फागुन २१ गते सम्पन्न स्थानीय तह उपनिर्वाचनको समीक्षा गर्दै पार्टी र जनताबीचको सम्बन्ध थप सुदृढ बनाउन आवश्यक रूपान्तरण तथा पुनर्गठनका विषयमा सुझाव संकलन गर्न कार्यदल गठन गरिएको थियो ।
एमालेको केन्द्रीय प्रचार तथा प्रकाशन विभागका प्रमुख नीरज आचार्यका अनुसार कार्यदलले आज वाग्मती प्रदेश संगठन कमिटीको समन्वयमा काठमाडौँबाट सुझाव संकलन अभियान सुरु गरेको हो ।
वाग्मती प्रदेश संगठन कमिटीको बैठक शुक्रबारदेखि सुरु भएको र बैठकपछि सुझाव संकलनका लागि भेला आयोजना गरिएको हो । गत जेठ १० गते सम्पन्न एमाले सचिवालयको आठौँ बैठकले उपाध्यक्ष रामबहादुर थापाको संयोजकत्वमा १५ सदस्यीय कार्यदल गठन गरेको थियो ।
जेठ २६ गते पार्टी अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा भएको कार्यदलको पहिलो बैठकले प्रदेशस्तरमा सुझाव संकलन गर्ने कार्यतालिका निर्धारण गरेको थियो ।
कार्यतालिकाअनुसार असार २ गते कोसी प्रदेश, असार ४ गते लुम्बिनी प्रदेश, असार ६ गते सुदूरपश्चिम प्रदेश, असार ८ गते कर्णाली प्रदेश, असार ११ गते गण्डकी प्रदेश, असार १३ गते मधेस प्रदेश तथा असार १६ गते राजधानी विशेष प्रदेश र असार १७ गते सम्पर्क समन्वय विशेष प्रदेशमा सुझाव संकलन गरिनेछ ।










प्रतिक्रिया दिनुहोस्