काठमाडौँ, १ असार । झापाको बुद्धशान्ति गाउँपालिकामा वर्षापछि आएको आकस्मिक बाढीका कारण खोला किनारमा अलपत्र परेका सात जनाको सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले सकुशल उद्धार गरेको छ ।
सशस्त्र प्रहरी बलका अनुसार बुद्धशान्ति गाउँपालिका–७ स्थित गौडाखोलामा शनिबार बेलुका पौडी खेल्न गएका सात जना एक्कासी आएको बाढीका कारण किनारमा फसेका थिए ।
घटनाको जानकारी प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस टिमाईबाट सशस्त्र प्रहरी नायव निरीक्षक सुरेन्द्र ठाकुरको नेतृत्वमा खटिएको सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले झण्डै एक घण्टाको प्रयासपछि उनीहरूको उद्धार गरेको हो ।
उद्धार गरिएकाहरूमा भद्रपुर नगरपालिका–५ निवासी २४ वर्षीय महेश हलुवाई, २४ वर्षीय रोहित साह, २३ वर्षीय भुपाल ठाकुर, २३ वर्षीय पिन्टु बर्मन, २८ वर्षीया एजिना न्यौपाने, २३ वर्षीया अनिषा न्यौपाने र ३६ वर्षीय राजु पाठक रहेका छन् ।
उद्धार गरिएका सबैको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्