काठमाडौँ, २ असार । एसईईमा सहभागी करिब एक हजार विद्यार्थीको उत्तरपुस्तिका हराएको पाइएको छ । पुनर्योगका लागि आवेदन दिएकामध्ये एक हजार हाराहारी विद्यार्थीको उत्तरपुस्तिका नभेटिएको हो ।
यसले पुनर्योगको नतिजा प्रकाशन प्रभावित भएको परीक्षा नियन्त्रक टुकराज अधिकारीले बताए । ३३ हजार ८ सय ८७ जनाले पुनर्योगका लागि आवेदन दिएका थिए । तीमध्ये ३१ हजार ८ सय ५५ जनाको पुनर्योगको नतिजा प्रकाशित भएको छ । करिब १ हजार विद्यार्थीको नतिजा उत्तरपुस्तिका नभेटिएका कारण सार्वजनिक गर्न नसकिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
तथ्यांकमा २ हजार ३ सय ३५ जनाको नतिजा प्रकाशन गर्न बाँकी देखिन्छ । तर केहीको मिसिङ (विविध कारण नतिजा स्थगित) तर्फ नतिजा प्राप्त भएको र केही पुनर्योगका लागि एकै विद्यार्थीले एकभन्दा बढी पटक आवेदन दिएका कारण तथ्यांक एक हजारभन्दा बढी देखिएको अधिकारीले बताए । ‘सबैको उत्तरपुस्तिका नभेटिएको भन्ने होइन,’ उनले भने ।
सम्बन्धित जिल्ला र परीक्षा केन्द्रले पठाएको उत्तरपुस्तिकामा विद्यार्थीको उत्तरपुस्तिका नभेटिएपछि पुनर्योगको नतिजा प्रकाशन गर्न विलम्ब भएको छ । ग्रेडवृद्धि (पूरक) परीक्षाअघि नै पुनर्योगको नतिजा सार्वजनिक गरेर त्यसमा चित्त नबुझेका विद्यार्थीले ग्रेडवृद्धि दिन पाउने व्यवस्था छ । सोमबारदेखि देशभर पूरक परीक्षा सञ्चालन भएको छ । तर पुनर्योगको आवेदन दिएका
विद्यार्थी नतिजा नआउँदा ग्रेडवृद्धि परीक्षा दिन बाध्य भएका छन् ।
सर्लाही जिल्लाका कतिपय विद्यार्थी पुनर्योगको नतिजा खोज्दै परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुर आइपुगेका छन् । तोकिएको समयमा नतिजा नआएपछि भक्तपुर आएको छात्र रवि शाक्यले बताए । ‘कापी खोज्दै छौं । भेटिएपछि नतिजा आउँछ भनेका छन् । लापरबाही गर्दा दुःख पाइयो,’ उनले भने । मोरङका विद्यार्थी भने पुनर्योगको नतिजा नआएका कारण ग्रेडवृद्धि परीक्षामा सहभागी भएका छन् ।
सरकारले यस पटक परीक्षा सकिएको एक महिनाभित्रै नतिजा प्रकाशन गर्ने घोषणा गरेको थियो । सोही कारण परीक्षा केन्द्रमा नै उत्तरपुस्तिका परीक्षण गरेर कार्यालयमा पठाउने व्यवस्था गरिएको थियो । परीक्षा केन्द्रबाट जथाभाबी र लापरबाहीपूर्ण तरिकाले परीक्षण गरेका उत्तरपुस्तिका पोको पारेर पठाएकाले भेट्न समस्या भएको बोर्डका कर्मचारीहरूले बताए । ‘उत्तरपुस्तिका खोज्दै जाँदा झापा, इलाम, मोरङ, सुनसरी, सर्लाहीलगायत जिल्लाका उत्तरपुस्तिका विद्यालयमै भेटियो,’ परीक्षा नियन्त्रक अधिकारीले भने, ‘मगाएका छौं । आएपछि हेरेर पुनर्योगको नतिजा प्रकाशित हुन्छ ।’ नभेटिएका उत्तरपुस्तिका खोज्ने काम जारी रहेको पनि कार्यालयले जनाएको छ ।
परीक्षण सकेपछि जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाइले प्राप्तांकसहित नतिजा प्रकाशनअघि नै सबै उत्तरपुस्तिका केन्द्रमा पठाउनुपर्ने व्यवस्था थियो । नतिजा प्रकाशनको हतारले गर्दा सबै उत्तरपुस्तिका प्राप्त हुन नसकेको बोर्डका एक कर्मचारीले बताए । विद्यार्थीले परीक्षा केन्द्र र विषय परिवर्तन गरेका कारण पनि केही उत्तरपुस्तिका नभेटिएको हुन सक्ने बोर्डको अनुमान छ । ‘हरेक दिन ३/४ जना कर्मचारी लगाएर उत्तरपुस्तिका खोज्ने काम भइरहेको छ । उनीहरूले दिनभरि खोज्दा पनि खोजेको एउटा उत्तरपुस्तिका पनि नभेटिएको अवस्था छ,’ उनले भने, ‘जुन पोकामा राख्नुपर्ने हो त्यही पोकामा उत्तरपुस्तिका नराखेपछि भेट्न मुस्किल भइरहेको छ ।’ कति उत्तरपुस्तिका परीक्षा केन्द्रमा नै छुटेर नभेटिएका हुन्, एकिन गर्न बाँकी रहेको बोर्ड जनाएको छ ।
उत्तरपुस्तिका नभेटिएका कारण सोमबार ३ सय ३९ जनाको मात्रै पुनर्योगको नतिजा प्रकाशित गरिएको थियो । जसमा १८ जनाको नतिजा परिवर्तन भएको छ । त्यसअघि ६ पटकमा ३१ हजार ५ सय १६ जनाको पुनर्योगको नतिजा प्रकाशित गरिएको थियो । त्यसमा १ हजार ८ सय १० जनाको नतिजा परिवर्तन भएको भेटिएको छ । यस वर्ष साढे ५ प्रतिशतभन्दा बढीको नतिजा परिवर्तन भएको छ ।
पुनर्योगका लागि आवेदन दिने विद्यार्थीको संख्या पनि गतवर्षभन्दा यस पटक बढेको थियो । उत्तरपुस्तिका परीक्षण गर्दा शिक्षकले प्राप्तांक जोड्न छुटाएर थोरै अंक दिएको, प्राप्तांक इन्ट्री गर्न त्रुटि भएर थोरै अंक दिएको जस्ता समस्या भेटिएका थिए । शिक्षक र बोर्डका कर्मचारीले परीक्षण र नतिजा प्रकाशनका क्रममा गरेको त्रुटिका कारण मर्कामा विद्यार्थी र अभिभावक परेका छन् । पुनर्योग गर्न ५ सय रुपैयाँ शुल्क बुझाएर आवेदन दिनुपर्ने व्यवस्था छ । केहीले उत्तरपुस्तिका नभेटिँदा पुनर्योगको नतिजा पनि प्राप्त गर्न सकेका छैनन् ।
विद्यार्थीले नतिजामा चित्त नबुझाए पुनर्योग गराउने, उत्तरपुस्तिका हेर्ने र पुनः परीक्षण गर्न पाउने व्यवस्था बोर्डले गरेको छ । पुनर्योगमा पनि सन्तुष्ट नभए विद्यार्थीले उत्तरपुस्तिका हेर्न र पुनः परीक्षण गर्न गराउन सक्नेछन् । २९ वैशाखमा सार्वजनिक एसईईको नतिजामा ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए । नियमिततर्फ ४ लाख ३० हजार ६ सय ६७ परीक्षार्थी सहभागी भएकामा २ लाख ८४ हजार विद्यार्थी उत्तीर्ण भए भने १ लाख ४६ हजार ५ सय ७ जना अनुत्तीर्ण भएका थिए । अनुत्तीर्ण विद्यार्थी ग्रेडवृद्धि परीक्षामा सहभागी हुन पाउने व्यवस्था छ । कान्तिपुरबाट










प्रतिक्रिया दिनुहोस्