काठमाडौँ, ४ असार । राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक महिला सङ्गठनका केन्द्रीय सचिव चम्पा अधिकारीले पार्टी परित्याग गरेकी छन् ।
बिहीबार सामाजिक सञ्जालमार्फत राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई पत्र लेख्दै उनले राप्रपाले बोकेका मूल एजेन्डाहरू ओझेलमा परेकाले आफूले पार्टी छाड्नु परेको बताएकी छन् । उनले पार्टीले मूल सिद्धान्त छोडेको भन्दै पार्टीको साधारण सदस्य समेत नरहनेगरी अलग भएको घोषणा गरेकी हुन् ।
अधिकारीले भनेकी छन्, ‘नेपालमा बहुसंख्यक जनता सनातन हिन्दु परम्परा र ओमकार परिवारसँग आबद्ध हुँदाहुँदै पनि हामीले सडक, सदन वा सरकार—कुनै पनि तहमा ती मुद्दाहरूलाई आवश्यक दृढताका साथ उठाउन सकेनौँ । त्यसैले तपाईँ यी मुद्दा र विचारधाराको प्रभावकारी नेतृत्व गर्न असफल हुनुभएको निष्कर्षमा पुगेको छु ।’
आफू एजेन्डा र विचारका कारण राप्रपामा जोडिएपनि अहिले पार्टीभित्रको आन्तरिक लोकतन्त्र कमजोर बनाएको र व्यक्तिगत पद तथा स्वार्थका लागि मूल एजेन्डाहरूलाई क्रमशः विस्मृत गराइएको बताएकी छन् । ‘आलोचनाभन्दा चाप्लुसीलाई प्राथमिकता दिने संस्कृतिले पार्टीलाई झन् कमजोर बनायो । विगतमा हामीले सुधारका लागि धेरै प्रयास गर्यौँ, तर ती सबै निष्फल भए’ अधिकारीले भनेकी छन् ।
यसअघि उनलाई पार्टीले अनुशासनको कारबाही गरेको थियो ।










प्रतिक्रिया दिनुहोस्