उदयपुर, ७ असार । प्रहरीले जिल्लाका छुट्टाछुट्टै स्थानबाट लागुऔषधसहित ३ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ३४ वर्षीय कृष्ण तामाङ,२६ वर्षीय जालकुमार राई र ३० वर्षीय नेत्रमान राई रहेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार तामाङलाई जिल्लाको कटारी नगरपालिका–४ कान्छी बजारबाट इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो भने जालकुमार र नेत्रमानलाई चौदण्डी नगरपालिका ३ देउरालीस्थित मदन भण्डारी राजमार्गबाट इलाका प्रहरी कार्यालय बेलटारबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
तामाङको साथबाट ५६ चक्की लागुऔषधसहित ४ हजार रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ । साथै नेत्रमान र जालकुमारको साथबाट ५७० ट्याब्लेट लागु औषधसहित एउटा अटोसमेत बरामद गरिएको प्रहरीले जनाएको छ । उनीहरूलाई सम्बन्धित प्रहरी कार्यालयहरूको हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्