राजनीति

अपराध अनुसन्धानलाई प्रविधिमैत्री बनाउनुपर्छ : मुख्यमन्त्री पाण्डे



पोखरा, ८ असार ।  गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अपराध अनुसन्धानलाई वैज्ञानिक, प्रमाणमुखी र प्रविधिमैत्री बनाउनुपर्ने बताएका छन् ।

प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग नक्सालको आयोजना तथा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराको समन्वयमा पोखरामा आइतबार आयोजना गरिएको प्रदेशस्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठीको उद्घाटन गर्दै उनले अपराध अनुसन्धानमा संलग्न प्रहरी अधिकृतले निष्पक्ष, व्यावसायिक र प्रमाणमा आधारित अनुसन्धानलाई प्राथमिकता दिनुपर्ने बताएका हुन् ।

मुख्यमन्त्री पाण्डेले भने “गण्डकी प्रदेश सरकार शान्तिसुरक्षा, सुशासन र कानुनी शासन सुदृढ गर्न प्रतिवद्ध । यस गोष्ठीबाट प्राप्त सुझाव तथा निष्कर्षहरूले अनुसन्धान प्रणालीलाई अझ प्रभावकारी बनाउँदै नागरिकको न्यायप्रतिको विश्वास अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पु¥याउनेछ ।”

साइबर तथा वित्तीय अपराध, सहकारी ठगी, लागुऔषध कारोबार तथा लैङ्गिक हिंसाजस्ता जटिल अपराधले अनुसन्धान प्रणालीलाई नयाँ चुनौती दिएकाले यस्ता चुनौतीको सामना गर्न अनुसन्धानमा आधुनिक प्रविधि, डिजिटल फरेन्सिक, डेटा विश्लेषण तथा प्रमाणमा आधारित प्रणालीको विकास अपरिहार्य रहेको उनले बताए ।