राजनीति

पशुहिंसा अन्त्य गर्नुपर्नेमा जोड



काठमाडौँ, ८ असार । पशुबलि प्रथाको अन्त्य, जीवप्रतिको करुणा र अहिंसाको सन्देश प्रवाह गर्ने उद्देश्यले स्नेहा’स केयर र इन्टरफेथ पिस फेडरेशन नेपाल (आईपीएफएन नेपाल)ले ललितपुरको पुल्चोकमा धार्मिक तथा आध्यात्मिक अगुवाहरूसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरेका छन् ।

कार्यक्रममा सहभागी विभिन्न धर्मका प्रतिनिधिहरूले धर्मको मूल मर्म करुणा, प्रेम र सहअस्तित्व भएकाले धार्मिक आस्थाको नाममा हुने पशुहिंसा अन्त्य गर्नुपर्नेमा जोड दिएका छन् । कार्यक्रममा बोल्दै स्नेहा’स केयरकी सञ्चालक स्नेहा श्रेष्ठले मठमन्दिर पूजा–आराधना र आध्यात्मिक साधनाको स्थल भएकाले त्यस्ता स्थानमा हिंसा र हत्या हुनु नहुने बताइन् । उनले धर्म र भगवानको नाममा पशुबली दिने परम्परालाई पुनर्विचार गर्न आवश्यक रहेको धारणा राखिन् । ‘मठमन्दिर भनेको पूजा–अर्चना गर्ने ठाउँ हो । यहाँ हत्या र हिंसा हुन हुँदैन । तर त्यही मठमन्दिरमा बलि दिइन्छ । धर्म र भगवानको नाममा अबोध प्रााणीलाई बलि दिनु हुँदैन भन्ने हाम्रो चाहना हो,’ उनले भनिन् ।

कार्यक्रमका जनस्वास्थ्यविद् अरुणा उप्रेतीले पशुबलि परम्परालाई समाजमा विद्यमान एक हानिकारक अभ्यासका रूपमा चित्रण गर्दै समयानुकूल परिवर्तन आवश्यक रहेको बताइन् । उनले विगतमा समाजले सती प्रथाजस्ता कुरीतिहरू अन्त्य गर्न सफल भएको उदाहरण प्रस्तुत गर्दै अब पशुबलि प्रथाको अन्त्यतर्फ पनि समाज अघि बढ्नुपर्ने धारणा व्यक्त गरिन् । ‘जसरी सती प्रथा नराम्रो हो भनेर हामीले हटायौं, त्यसरी नै बलि दिने परम्परालाई पनि अन्त्य गर्नुपर्छ,’ उनले भने ।

त्यसैगरी हिन्दू धर्मगुरु रामचन्द्र भण्डारीले बलिको वास्तविक धार्मिक अर्थ ‘त्याग’ भएको स्पष्ट पारे । उनले धर्मग्रन्थहरूमा बलिलाई हिंसासँग नभई आत्मसंयम, त्याग र सकारात्मक परिवर्तनसँग जोडेर व्याख्या गरिएको उल्लेख गर्दै धार्मिक अभ्यासको सही अर्थ बुझ्न आवश्यक रहेको बताए । कार्यक्रममा सहभागी विभिन्न धर्म तथा आध्यात्मिक परम्पराका प्रतिनिधिहरूले जीवप्रतिको सम्मान, करुणा र अहिंसाको संस्कृतिलाई समाजमा थप बलियो बनाउन धार्मिक समुदायहरूले अग्रणी भूमिका खेल्नुपर्ने धारणा राखेका थिए । उनीहरूले धार्मिक विश्वास र सांस्कृतिक अभ्यासलाई समयसापेक्ष रूपमा व्याख्या गर्दै मानवता, सहिष्णुता र जीवमैत्री मूल्यहरूलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए ।

आयोजकका अनुसार उक्त कार्यक्रमले विभिन्न धर्म तथा आस्था परम्पराका धार्मिक तथा आध्यात्मिक नेताहरूलाई एउटै मञ्चमा ल्याएर करुणा, शान्तिपूर्ण सहअस्तित्व, जीवप्रतिको सम्मान तथा मानवीय मूल्यहरूको प्रवद्र्धनका विषयमा अर्थपूर्ण संवाद गर्ने अवसर प्रदान गरेको छ । साथै यसले विभिन्न दृष्टिकोणबीच आपसी समझदारी अभिवृद्धि गर्दै सामाजिक र नैतिक महत्वका विषयमा रचनात्मक बहसलाई प्रोत्साहन गर्ने विश्वास व्यक्त गरिएको छ । कार्यक्रममा उपस्थित वक्ताहरूले पशुबलि अन्त्यका लागि केवल कानुनी वा प्रशासनिक पहल मात्र पर्याप्त नहुने भन्दै धार्मिक अगुवा, नागरिक समाज, पशु अधिकारकर्मी तथा आम समुदायबीच सहकार्य आवश्यक रहेको बताए । उनीहरूले धर्मको मूल सन्देश करुणा र अहिंसा भएकाले धार्मिक स्थलहरूलाई हिंसामुक्त बनाउने अभियानलाई थप व्यापक बनाइनुपर्नेमा जोड दिए ।

अन्तरक्रिया कार्यक्रममा सहभागीहरूले पशुबलि अन्त्य तथा जीवमैत्री समाज निर्माणका लागि जनचेतना अभिवृद्धि, धार्मिक शिक्षाको सही व्याख्या र समुदायस्तरमा संवादलाई निरन्तरता दिनुपर्ने आवश्यकता औँल्याएका छन् । कार्यक्रमले पशुप्रति करुणा र अहिंसाको संस्कृतिलाई समाजमा संस्थागत गर्न सामूहिक प्रतिबद्धता व्यक्त गर्दै सम्पन्न भएको आयोजकले जनाएको छ ।