चितवन, १० असार । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षामन्त्री सीता बादीले मंगलबार भरतपुर महानगरपालिका–१० स्थित बालमन्दिर ‘अटिजम’ विद्यालय तथा ‘एसओएस’ बालग्राम भरतपुरको अनुगमन तथा अवलोकन गरेकी छन् ।
त्यस अवसरमा मन्त्री बादीले अटिजम भएका बालबालिकाको शैक्षिक अवस्था, उनीहरूलाई उपलब्ध गराइँदै आएको शिक्षण तथा सहयोग प्रणाली, पुनः स्थापना तथा परामर्श सेवा, साथै विद्यालयको समग्र सिकाइ वातावरणबारे जानकारी लिइन् ।
उनले विशेष आवश्यकता भएका बालबालिकाको क्षमता विकास, आत्मनिर्भरता र सामाजिक समावेशीकरणका लागि समावेशी तथा गुणस्तरीय शिक्षाको भूमिका अत्यन्त महत्त्वपूर्ण रहेको बताइन् । उनले अटिजम भएका बालबालिकाले पनि अन्य बालबालिकासरह शिक्षा, स्वास्थ्य, संरक्षण र सम्मानपूर्वक जीवनयापन गर्ने अधिकार प्राप्त गर्नुपर्नेमा जोड दिइन् ।
सिकाइ प्रक्रियालाई अझ प्रभावकारी बनाउन दक्ष जनशक्ति, आवश्यक शैक्षिक सामग्री, बालमैत्री वातावरण तथा अभिभावकको सक्रिय सहभागिता अपरिहार्य हुनुपर्ने उनको भनाइ थियो । उनले यस्ता बालबालिकाको अधिकार संरक्षण र गुणस्तरीय सेवा सुनिश्चितताका लागि मन्त्रालयले आवश्यक पहल तथा सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता गरिन् ।










प्रतिक्रिया दिनुहोस्