राजनीति

स्थानीय उत्पादनको बजारीकरणले मात्रै ग्रामीण अर्थतन्त्र बलियो बन्छ : मुख्यमन्त्री आचार्य



प्युठान, १३ असार । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय उत्पादनको बजारीकरणबाट मात्रै ग्रामीण अर्थतन्त्र सुदृढ बन्नसक्ने बताएका छन् ।

सरुमारानी गाउँपालिका वडा नम्बर २ बगालेमा स्थापना गरिएको हाट बजारको शनिबार उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले हाट बजारमा स्थानीय किसानले उत्पादन गरेका वस्तुलाई मात्रै प्राथमिकता दिनुपर्ने बताएका हुन् । उनले भारतबाट आयात गरिएका तरकारी तथा अन्य कृषि उपज बिक्रीका लागि नराखी स्थानीय किसानले उत्पादन गरेका तरकारी, फलफूल, मह, घ्यू तथा अन्य कृषि उपज बिक्री गर्नुपर्नेमा जोड दिए ।

‘यो हाट बजार स्थानीय उत्पादनको बजार बन्नुपर्छ’ उनले भने, ‘यसबाट किसानले आफ्नो उत्पादनको उचित मूल्य पाउने र स्थानीय अर्थतन्त्र पनि बलियो बन्छ ।’

प्रदेश सरकारले कृषि क्षेत्रको यान्त्रिकीकरण, व्यवसायीकरण तथा अर्गानिक उत्पादनलाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गरिरहेको बताउँदै उनले किसानलाई व्यावसायिक र अर्गानिक खेतीतर्फ आकर्षित हुन आग्रह गरे ।