काठमाडौँ, १६ असार । नेपाल राष्ट्र बैंकले ३५ अर्ब रुपैयाँबराबरको ‘नेपाल राष्ट्र बैंक ऋणपत्र, २०८४ क’ जारी गरेको छ ।
बैंकको मौद्रिक व्यवस्थापन विभागले आज सूचना प्रकाशन गर्दै एक वर्ष अवधिका निम्ति यो ऋणपत्र बोलकबोलमार्फत निष्कासन गर्न लागेको हो ।
यो ऋणपत्रको बोलकबोल आज दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ सिस्टम सफ्टवेयरमार्फत मात्र हुनेछ । ऋणपत्रको निष्कासन पनि गरिने जनाइएको छ । यसको साँवा भुक्तानी ०८४ असार १६ गतेका निम्ति तोकिएको छ ।
ऋणपत्रको ब्याजदर बोलकबोलका माध्यमबाट निर्धारण गरिनेछ । यसरी निर्धारित ब्याजको भुक्तानी अर्धवार्षिक रूपमा गरिने बैंकले जनाएको छ ।
यो ऋणपत्रको बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्था (काउन्टरपार्टी) मात्र सहभागी हुन पाउनेछन् । लगानीकर्ताले न्यूनतम पाँच करोड र अधिकतम पाँच करोड रुपैयाँले भाग जाँदा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोल गर्न सक्नेछन् ।










प्रतिक्रिया दिनुहोस्