राजनीति

अपाङ्गता भएका व्यक्तिका प्रजनन् अधिकार र स्वास्थ्य सेवामा पहुँच पुर्‍याउनु पर्नेमा जोड



काठमाडौँ, १९ असार । अपाङ्गता भएका व्यक्तिका प्रजनन् स्वास्थ्य अधिकार र स्वास्थ्य सेवामा पहुँच पुर्‍याउन स्थानीय सरकारले बजेट विनियोजनसहित कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिइएको छ ।

बिहीबार श्रवण दृष्टिविहिन अभिभावक समाजले विभिन्न अपाङ्गता भएका सङ्घ संस्थाको सहकार्यमा अपाङ्गता भएका व्यक्तिका प्रजनन् स्वास्थ्य अधिकार र स्वास्थ्य सेवामा पहुँच पुर्‍याउन सरोकारवाला समुहहरुसँग छलफल कार्यक्रममा सो कुरा बताएका हुन् । कार्यक्रममा काठमाडौँ महानगरपालिकाका सामाजिक विकास विभागका अधिकृत भवानी कपालीले महानगरले अपाङ्गता भएका व्यक्तिहरुका लागि अटिजम स्कूल समेत सञ्चालन गर्ने योजना अगाडि सारेको जानकारी दिंदै अपाङ्गता भएका व्यक्तिहरुको जीवन सहज बनाउने लक्ष्यले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिनुभयो ।

उहाँले बजेट तथा कार्यक्रममार्फत काम गर्दै अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य सेवा, शिक्षा, जीवनयापनमा सहयोग गर्ने लक्ष्यले दोभाषेको समेत व्यवस्था गरिएको र दोभाषेको तालिम समेत प्रदान गर्दै आएको बताउनुभयो । महानगरका स्वास्थ्य सेवा विभाग प्रमुख दीपक कुमार केसीले अपाङ्गता भएका व्यक्तिहरुलाई धेरै स्वास्थ्य समस्या पनि भइरहने भएकोले उहाँहरुको लागि सहुलियत हुने गरी स्वास्थ्य परिक्षणलगायतका सेवाका लागि महानगरले सञ्चालन गरेको सहरी स्वास्थ्य सेवा प्रवद्र्धन शाखाहरुमा व्यवस्था गर्न सकिने धारणा व्यक्त गर्नुभयो ।

समाजका अध्यक्ष लाक्पा नुरु शेर्पाले विभिन्न अपाङ्गता भएका सङ्घ संस्थाको सहकार्यमा अपाङ्गता भएका व्यक्तिका प्रजनन् स्वास्थ्य अधिकार र स्वास्थ्य सेवामा पहुँच पुर्‍याउन बहिरा व्यक्तिलाई तालिम दिएर बहिरा स्कूलका किशोर, किशोरी र दृष्टिविहिनलाई तालिम दिएर सोही समुहमा पठाएर पुनः प्रशिक्षण दिने काम भइरहेको जानकारी दिनुभयो । उहाँले अपाङ्गता भएका व्यक्तिहरु हिडडुल गर्ने, पढ्ने, सिक्ने विषयमा मात्र पछि परेका छैनन्, श्रवण दृष्टिविहीनलगायत बौद्धिक अपाङ्गता, दृष्टिविहीन, बहिरा व्यक्तिहरुले प्रजनन् स्वास्थ्यका बारेमा जानकारी नपाउँदा सरसफाई र प्रजनन् स्वास्थ्यमा समस्या आउँदा स्वास्थ्य सेवा प्रदायकसम्म पुग्न समेत नसक्दा धेरै जना रोगी भइरहेको बताउनुभयो । उहाँले दौतरी शिक्षा कार्यक्रममार्फत काठमाडौँ उपत्यकामा सञ्चालन गरेको सो अभियानको क्रममा बहिरा दौतरी शिक्षकलाई तालिम दिएर बहिरा स्कूलहरुमा गएर प्रशिक्षण दिने र दृष्टिविहीनलाई तालिम दिएर दृष्टिविहिन समुदायकोमा पठाउँदा आफु जस्तै दौतरी शिक्षकले भनेका कुरा छिटो विश्वास गर्ने सिक्ने गरेको पाइएको अनुभव सुनाउनुभयो ।

अध्यक्ष शेर्पाले अपाङ्गता भएका व्यक्तिहरुको प्रजनन् स्वास्थ्य अधिकार र पहुँच तथा दौतरी शिक्षक सम्वन्धि कार्यपत्र प्रस्तुत गर्दै अभियानको क्रममा काठमाडौँ महानगरले हरेक वडामा एमविविएस डाक्टरको व्यवस्थासहित सहरी स्वास्थ्य प्रवद्र्धन शाखाबाट सेवा प्रवाह गरेकोबारे अपाङ्गता भएका सबै व्यक्तित्वहरु अनविज्ञ रहेको पाइएको पनि जानकारी दिनुभयो ।