Banner News

कानून पारित नभए आगामी निर्वाचन कठिन : कावा प्रमुख निर्वाचन आयुक्त



काठमाडौँ, २३ असार । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले एकीकृत निर्वाचन कानुन चालु अधिवेशनभित्रै पारित हुन नसके आगामी निर्वाचन गर्न निकै कठिन हुने चेतावनी दिएका छन् ।

भण्डारीले आयोगमा आयोजित आफ्नो बिदाइ कार्यक्रमलाई सम्बोधन गर्दै चालु बजेट अधिवेशनबाटै कानुन बन्न नसके आगामी दिनमा निर्वाचन झनै पेचिलो बन्ने र निर्वाचन नै नहुन सक्ने जोखिम औँल्याए ।

आफ्नो कार्यकालमा आयोगलाई कानुनी रूपमा स्पष्ट र दर्बिलो बनाउने प्रयास गरेको जिकिर गर्दै भण्डारीले एकीकृत निर्वाचन कानुनको मस्यौदा तयार पारेर मन्त्रालयमा पेस गरे पनि संसद्मा पुग्न नसकेको गुनासो गरे।

उनले भने, ‘मेरो कार्यकालमा एकीकृत निर्वाचन कानुनको मस्यौदा तयार पारेर सम्बन्धित मन्त्रालयमा पेस गरिएको छ । यो पेस गरेको पनि तीन वर्षभन्दा लामो भइसक्यो, जुन संसद्मा अझै पेस हुन सकेको छैन,’ ‘अहिलेको यो बजेट अधिवेशनमा कानुन आएन भनेदेखि अर्को वर्ष हुने निर्वाचन झन् पेचिलो हुन्छ, गाह्रो हुन्छ र त्यो निर्वाचन नहुन पनि सक्छ।’