राजनीति

एकताको विकल्प छैन : नेता खड्का



काठमाडौँ, २३ असार । नेपाली कांग्रेस इतरसमूहका नेता एवं पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले कांग्रेसमा एकताको विकल्प नभएको बताएका छन् । 

आज सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले भनेका छन्, “व्यक्ति होइन, संगठन बलियो बनाऔँ । एक कांग्रेस, सबल कांग्रेस, सम्मान, सहकार्य र सामूहिक नेतृत्व हाम्रो प्रतिबद्धता हो ।” 

त्याग, संवाद र एकताले नै कांग्रेस बलियो बन्ने उनको भनाइ छ । संवादहीनता होइन, निरन्तर संवाद हुनुपर्ने खड्काले उल्लेख गरेका छन् । कांग्रेस विभाजन भन्दा पनि उनले बृहत् एकतामा जोड दिएका छन् । 

कर्णालीलगायत सबै प्रदेशमा वास्तविक एकताको वातावरण निर्माण हुनुपर्ने, पार्टीभित्रका असन्तुष्ट पक्षसँग सम्मानपूर्वक संवाद अघि बढ्नुपर्ने, निर्णय प्रक्रियामा पारदर्शिता, समावेशिता र संस्थागत अभ्यासलाई प्राथमिकता दिइनुपर्ने, योगदान गरेका नेता–कार्यकर्ताको सम्मान र उचित मूल्यांकन हनुपर्नेलगायत विषयमा नेता खड्काले विशेष जोड दिएका छन् ।