भक्तपुर, २३ असार । केन्द्रीय राजधानी रहेको बागमती प्रदेशभित्र रहेका पर्यटकीय गन्तव्यको खोजी गर्दै पर्यटन क्षेत्रको सम्भावना, चुनौती र भावी कार्यदिशा बारे एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
बागमती प्रदेश सरकार, संस्कृति तथा पर्यटन मन्त्रालयको आयोजना तथा राष्ट्रिय सञ्चार केन्द्र नेपालको सहकार्यमा आज एनएसीको सभाहलमा प्रदेशका पर्यटन मन्त्री सुरेश श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । कार्यक्रममा बागमती प्रदेश अन्तरगतका सांस्कृतिक, धार्मिक, भौगोलिकलगायतका पर्यटनका सम्भावना र पर्यटन क्षेत्रको दिगो विकासका बारेमा छलफल गरियो ।
नेपाल पर्यटन बोर्डका प्रवन्धक सुमन घिमिरेले पर्यटन क्षेत्रको समस्या खडा गर्ने मात्र नभई समाधान बाटो अवलम्बन गर्नुपर्नेमा जोड दिनुभयो । पर्यटन क्षेत्रको विकास र विस्ताको लागि मार्केटिङ र ब्राण्डीङ गर्नु अपरिहार्य रहेको औंल्याउँदै उहाँले भन्नुभयो, ‘चालु आर्थिक वर्षमा नेपाल सरकारको आन्तरिक तथा बाह्य गरी १६ लाख पर्यटक भित्र्याउने लक्ष्य बनाएको थियो । जसमा हालसम्म करिव १३ लाख आइसकेका छन् । जसमा ९१ हजारभन्दा बढी बाह्य रहेका छन् । भारतबाट २५–३० लाख आउाने अपेक्षा गरिएको छ ।’
पर्यटन क्षेत्र नै राज्यको आर्थिक समृद्धिको आधार भएको उल्लेख गर्दै उहाँले कुल अर्थतन्त्रको २.५ प्रतिशत योगदान पर्यटन क्षेत्रले पुर्याएको दावी गर्नुभयो । आगामी दिनमा लाखमा नभई करोडमा पर्यटक भित्र्याउने लक्ष्य बनाई योजनाबद्ध रुपमा तीनवटै तहका सरकारहरु लाग्नुपर्नेमा जोड दिँदै उहाँले पर्यटन क्षेत्र देशको बहुमुल्य पुँजी भएको उल्लेख गर्नुभयो । पर्यटन क्षेत्रमा प्राथमिकता, पूर्वाधार र प्रवद्र्धनमा तीनवटै तहका सरकारको समन्वय अपरिहार्य रहेको औंल्याउनुभयो ।
होटल व्यवसायी महासंघ नेपाल बागमतीका अध्यक्ष दामोदर नेपालले पर्यटन क्षेत्र नै समृद्धिको आधार भएता पनि राज्यको नीति अपेक्षाकृत हुन नसकेको गुनासो गर्नुभयो । सम्भावना र दृष्टिकोणलाई गन्तब्यको रुपमा विकास गर्नुपर्नेमा जोड दिँदै उहाँले राज्यका नेतृत्वको व्यवस्थापकीय क्षेत्रमा कमजोरि रहेको औंल्याउनुभयो । उहाँले भन्नुभयो, ‘नेपाल पर्यटन क्षेत्रमा सम्भावनाको खानी हो । जसमा कृतिमभन्दा पनि प्राकृतिक क्षेत्रहरुको संरक्षण, सम्वद्र्धन तथा विकासमा विशेष जोड दिनुपर्छ । गाउँ गाउँका पर्यटकीय क्षेत्रको विकास अपरिहार्य रहेको छ । यसको विकासको लागि प्रविधिसँगै मिडियाकर्मीको भूमिका महत्वपूर्ण हुन्छ ।’
होटल संघ नेपाल बागमती प्रदेशका अध्यक्ष रामसुन्दर बकेले लगानीकर्ताले पर्यटन व्यवसायमा लगानी गर्न चुनौति रहेको उल्लेख गर्दै देशको आर्थिक उन्नती गर्न होमस्टेको विकास गर्नुपर्नेमा जोड दिनुभयो । नयाँ गन्तव्यहरुको विकास गर्नुपर्नेमा जोड दिँदै उहाँले ग्रामिण पर्यटन क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकहरुको मुख्य चाहना देखिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘शहरी पर्यटनले अब धान्न सक्दैन । त्यसको लागि ग्रामिण क्षेत्रको पर्यटनको विकास र विस्तार गर्नुपर्छ । विदेशी पर्यटक भवन हेर्न नभई नेपालको ग्रामिण विकास र कला–संस्कृति हेर्न आउने गर्छन् । तसर्थः दिगो पर्यटन विकासको लागि ग्रामिण पर्यटन नीति सरकारले लिनुपर्छ । काठमाडौँमा आएका पर्यटक कम्तिमा एक हप्ता बस्ने वातावरण बनाउनुपर्छ ।’
कार्यक्रममा मध्यपुर थिमी नगरपालिका वडा नं. ३ का वडाध्यक्ष तथा नगरप्रवक्ता कृष्णहरी आचार्यले मध्यपुर नगरपालिकाले कला, पौराणीक तथा इतिहास बोकेको उल्लेख गर्नुभयो । बाहिरी पर्यटक भन्दा बढी आन्तरिक पर्यटकले देशको आर्थिक समृद्धिको ठूलो टेवा पुग्ने उल्लेख गर्दै उहाँले प्रकृति र संस्कृतिलाई जोड्ने तथा आध्यात्मिक केन्द्रलाई आधार बनाउने गरी आगामी दिनमा रणनीति बनाएर आगाडी बढ्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा बागमती प्रदेशका पर्यटन मन्त्री श्रेष्ठले कानुनी समस्याका कारण प्रदेश क्षेत्रका महत्वपूर्ण पर्यटकीय क्षेहरुको सम्भावना तथा त्यसको विकास र विकासको बारेमा अपेक्षाकृत प्रचार–प्रसार गर्न नसकिएको गुनासो गर्नुभयो । प्रदेश सरकारबाट पर्यटन क्षेत्रको सम्भावना र भाविष्यको आधारको लागि चार करोड रुपैंया बजेट विनियोजन गरिएको जानकारी गराउँदै उहाँले व्यवसायी बलियो नभएसम्म प्रदेश सरकार बलियो हुन नसक्ने कुरामा आफु प्रष्ट रहेको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘संघीय ऐन तथा आइइ समस्याका कारण होटलहरु दर्ता गर्न समस्या भएका छन् । समस्या उत्पन्न भएता पनि विकल्पसहित समस्या समाधान गर्नुपर्छ । त्यसमा बागमती प्रदेश सरकार वार्ता, छलफल तथा सम्वाद गर्न जहिले पनि तयार रहेको छ । पर्यटन क्षेत्रको दिगो विकास र विस्तारको लागि व्यवसायीको साथसाथै जनता पनि जागरुक हुनुपर्छ, सहकार्य गर्नुपर्छ । नेपालमा चीन र भारतका नागरिकलाई धार्मिक पर्यटकको रुपमा मात्र भित्र्याउन सके आर्थिक समृद्धिमा ठूलो फड्का मार्न सकिन्छ । जसको लागि व्यवसायीले पनि सोही अनुसारको विश्वसनियता कायम गर्नुपर्छ ।’
कार्यक्रममा बागमती प्रदेश पर्यटन कार्यालय काठमाडौँका प्रमुख पदम पोखरेल, भक्तपुर पर्यटन विकास समितिका अध्यक्ष रामसुन्दर बगे, नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष सुन्दर सिल्पकारलगायतले पर्यटन क्षेत्रको दिगो विकास, सम्भावना र चुनौतिहरु प्रस्तुत गर्नुभयो । संस्थाका अध्यक्ष पेशलकुमार आचार्यको सभापतित्वमा भएको कार्यक्रममा उपाध्यक्ष पुष्करराज बुढाथोकीले स्वागत तथा सल्लाहकार दिवश गुरागाईले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो ।










प्रतिक्रिया दिनुहोस्