एजेन्सी, २६ असार । चीनको पूर्वी प्रान्त फुजियानमा बिहीबार एक जुत्ता कारखानामा लागेको आगोले कम्तीमा २८ जनाको ज्यान लिएको चिनियाँ सञ्चारमाध्यमहरूले जनाएका छन् । आगो निभाउन दर्जनौं दमकल तथा उद्धारकर्मीहरू खटिएका थिए ।
फुजियान प्रान्तको जिनजियाङ शहरमा रहेको हुइटेङ जुत्ता कारखानामा स्थानीय समयअनुसार बिहीबार दिउँसो करिब १२ बजे आगो लागेको थियो । अधिकारीहरूले भवनभित्र अझै मानिसहरू फसेको आशङ्का गरेका छन् ।
राष्ट्रपति सी चिनफिङले आगलागीबाट ‘ठूलो मानवीय क्षति’ भएको र घटनामा जिम्मेवारलाई कानुनी दायरामा ल्याइने बताएका छन् । चीनको सिन्ह्वा न्यूज एजेन्सीले दिएको पछिल्लो जानकारीमा साँझसम्म २८ जनाको मृत्यु भएको पुष्टि गरेको छ ।
राष्ट्रिय टेलिभिजन सीसीटीभीले प्रसारित फुटेजमा भवनबाट ठूलो कालो धुवाँ निस्किरहेको र दमकलकर्मीहरूले भवनको बाहिरी भाग र भित्री भागमा पानीको फोहोराले आगो निभाइरहेको देखिन्छ ।
आगो तल्लो तलाहरूमा फैलिएका मानिसहरू भवनको झ्याल नजिक र छतमा आश्रय लिइरहेको देखिन्थ्यो ।
विपत् व्यवस्थापन मन्त्रालयले विज्ञप्तिमा १८३ जना उद्धारकर्मी र ३५ वटा सवारी साधन घटनास्थलमा खटाएको जनाएको छ। सिन्ह्वाका अनुसार खोज तथा उद्धार कार्यलाई तीव्र बनाउन निर्देशन दिइएको छ ।
सिनजियाङका दमकल प्रमुख डु झेन्झाउले दिएको जानकारीमा जुत्ताका सामग्रीले भरिएका भर्याङ र निस्कने बाटो अवरुद्ध भएकाले उद्धार टोली भवनको माथिल्लो तलासम्म पुग्न सङ्घर्ष गर्नुपरेको थियो।










प्रतिक्रिया दिनुहोस्