राजनीति

चार समितिको बैठक बस्दै



काठमाडौँ, २९ असार । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभाका विभिन्न चारवटा समितिको बैठक आज बस्ने भएको छ । 

संसद् सचिवालयका अनुसार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको १३औँ बैठक सोमबार बिहान ८:३० बजे सिंहदरबारस्थित संघीय संसद् सचिवालयको भवनस्थित समितिको कक्षमा बस्ने छ। यस बैठकमा राष्ट्रिय योजना आयोगसँग विभिन्न महत्त्वपूर्ण विषयमा जानकारी लिने कार्यसूची छ। जसमा आर्थिक वर्ष ०८२/८३ मा आयोगबाट भएगरेका मुख्य-मुख्य कामकारबाही, १६औँ आवधिक योजनाको कार्यान्वयनको अवस्था, मध्यकालीन खर्च संरचना (एमटिएफ) को कार्यान्वयनको अवस्था र राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना लगायतका विकास आयोजनाहरूको कार्यप्रगतिका बारेमा छलफल हुने छ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक दिनको १:०० बजे समितिको बैठक कक्षमा बस्ने शाखा अधिकृत बिनिता मरासिनी पन्थीले जानकारी दिइन् । यस बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ का सम्बन्धमा छलफल हुने कार्यसूची छ।

सोमबार नै दिनको १:०० बजे प्रतिनिधि सभाकै कानुन, न्याय तथा मानव अधिकार समितिको आठौँ बैठक पनि बस्ने छ। सिंहदरबारस्थित समितिको बैठक कक्षमा बस्ने बैठकमा ‘बाल सुधार गृहमा रहेका बालबालिकाहरूको मानव अधिकारको अवस्थासम्बन्धी निरीक्षण तथा अवलोकन उपसमितिको प्रतिवेदन, २०८३’ उपर छलफल हुने शाखा अधिकृत एलिसा श्रेष्ठले जानकारी दिइन्।

राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक पनि सोमबार नै बिहान ११:३० बजे समितिको बैठक कक्षमा बस्ने तय भएको छ। उक्त बैठकमा मधेस प्रदेशमा भएको स्थलगत अनुगमनको प्रतिवेदनको मस्यौदामाथि छलफल हुने कार्यसूची रहेको छ।