विश्व

इरानद्वारा होर्मुज जलमार्ग बन्द भएको घोषणा 



एजेन्सी, २९ असार । इरानले नयाँ आक्रमणहरूका बिच स्ट्रेट अफ होर्मुज बन्द भएको घोषणा गरे पनि अमेरिकाले भने उक्त जलमार्ग खुला नै रहेको दाबी गरेको छ। यस हप्ता फेरि भड्किएको तनाव आइतबार पनि जारी रह्यो। 

इरानले एक जहाजमाथि आक्रमण गरेपछि अमेरिकाले इरानका १४० भन्दा बढी ठेगानामा आक्रमण गरेको बताएको छ। इरानले भने उक्त जहाजले अनुमति नलिएको मार्ग प्रयोग गरेका कारण आक्रमण गरिएको दाबी गरेको थियो।

जलमार्गमा आफ्नो नियन्त्रण कायम गर्ने प्रयास गरिरहेको इरानले आइतबार बिहान अर्को सूचना नभएसम्मका लागि सो मार्ग बन्द गरिएको बताएको थियो। यसैबिच, इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) ले आइतबार यस क्षेत्रका अमेरिकी बेस र सहयोगी देशहरूमाथि व्यापक आक्रमण सुरु गरेको छ, जसले तनावलाई थप बढाएको छ। इरानले जोर्डनमा रहेको अमेरिकी बेसमा आक्रमण गरेको बताएको छ भने संयुक्त अरब इमिरेट्स (यूएई), कतार, कुवेत, ओमान र बहराइनले इरानबाट आएका मिसाइल र ड्रोनको प्रतिरोध गरेको जनाएका छन्।

युद्धविराम वार्तामा मध्यस्थकर्ता रहेको कतारमा गत अप्रिलदेखि र यूएईमा गत मेदेखि कुनै आक्रमण भएको थिएन। आइतबार साँझ सेन्टकमले इरानविरुद्ध अर्को चरणको आक्रमणको घोषणा गरेको छ।