राजनीति

करेन्ट लागेर घाइते भएका बालकलाई १५ लाख ७१ हजार क्षतिपूर्ति दिइने



काठमाडौँ, ७ साउन । नेपाल विद्युत् प्राधिकरणले विद्युत् प्रसारण लाइनको तार छोएर गम्भीर घाइते भई दुवै हात गुमाएका बालकलाई उपचार खर्चसहित कुल १५ लाख ७१ हजार २५० रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउने भएको छ ।

प्राधिकरण सञ्चालक समितिको बैठकले उपचार खर्च, क्षतिपूर्ति र कुरुवा खर्चसहितको उक्त रकम स्वीकृत गरेको हो ।

नवलपरासी (सुस्ता पूर्व) को त्रिवेणी गाउँपालिका–२, घुसेरीस्थित आमा समूहको भवनको छतमा खेलिरहेका क्रममा बालकले नजिकै रहेको ११ केभी प्रसारण लाइनको तार छुँदा करेन्ट लागेर घाइते भएका थिए । स्वीकृत रकम सम्बन्धित वितरण केन्द्रमार्फत पीडित बालकको परिवारलाई उपलब्ध गराइने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले दुर्घटना क्षतिपूर्ति विनियमावली, २०६७ को विनियम ११ को उपनियम १ बमोजिम क्षतिपूर्ति र औषधि उपचारको खर्च भुक्तानी गर्दै आएको छ । प्राधिकरणको विनियमावली अनुसार २ लाख रुपैयाँसम्मको क्षतिपूर्ति र औषधोपचार विभागीय प्रमुख, २ लाखदेखि ५ लाख रुपैयाँसम्म सम्बन्धित उपकार्यकारी निर्देशक, ५ लाख देखि १० लाख रुपैयाँको मुख्य प्रशासकीय अधिकृत र १० लाखभन्दा बढीको रकम सञ्चालक समितिले निर्णय गर्नुपर्ने व्यवस्था छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले कानुनी व्यवस्था र विगतका नजीरहरुका आधार पीडित बालकको परिवारलाई सहयोग गरिएको बताए ।