Banner News

सरकारको म्यान्डेट सुशासन र समावेशी आर्थिक वृद्धिमा केन्द्रित : मन्त्री खनाल



काठमाडौँ, ८ साउन । परराष्ट्रमन्त्री शिशिर खनालले युवा पुस्ताको आकांक्षा र जनमतबाट प्राप्त वर्तमान सरकारको म्यान्डेट सुशासन र समावेशी आर्थिक वृद्धिमा केन्द्रित रहेको उल्लेख गरेका छन् । 

काठमाडौँमा मानार्थ वाणिज्यदूत कोर–नेपालको १९औँ वार्षिक साधारणसभा तथा चार्टर दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खनालले नेपालको परराष्ट्र नीतिले अब आर्थिक रूपान्तरण, लगानी आकर्षण, व्यापार विस्तार र नवप्रवर्तनलाई प्राथमिकता दिने बताए ।

नेपालको अन्तर्राष्ट्रिय पहुँच विस्तार र आर्थिक कूटनीतिलाई मजबुत बनाउन अवैतनिक वाणिज्यदूतहरूको भूमिका महत्त्वपूर्ण हुने बताएका छन् । उनले वाणिज्यदूतहरूलाई नेपालको राष्ट्रिय प्राथमिकता र आकांक्षाहरूसँग एकाकार हुँदै द्विपक्षीय साझेदारी सुदृढ तुल्याउन सुझाव दिए । 

मन्त्री खनालले अवैतनिक वाणिज्यदूतहरूको कार्यसम्पादनलाई थप प्रभावकारी र सहज बनाउन विद्यमान नियमावली, सुविधा र कानुनी ढाँचाहरूको समयसापेक्ष परिमार्जन गर्न मन्त्रालय प्रतिवद्ध रहेको स्पष्ट पारे ।