एजेन्सी, ९ साउन । पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा रहेको एक सुरक्षा चौकीलाई लक्षित गरी गरिएको आत्मघाती कार बम आक्रमणमा २७ जनाको मृत्यु भएको छ । पाकिस्तानी सेनाले शुक्रबार सार्वजनिक गरेको विवरणअनुसार मृतकमध्ये सुरक्षाकर्मी र आक्रमणकारी दुवै पक्षका व्यक्ति छन्।
अफगानिस्तानको सीमावर्ती ट्यांक जिल्लामा बिहीबार राति भएको आक्रमणमा १२ सैनिक, दुई प्रहरी र वन विभागका एक कर्मचारी मारिएका छन्। सेनाका अनुसार आक्रमणमा संलग्न १२ जना लडाकु पनि मारिएका छन्।
पाकिस्तानी सेनाले आक्रमणकारीहरूले सुरक्षा चौकीमा जबर्जस्ती प्रवेश गर्ने प्रयास गरेपछि विस्फोटक पदार्थले भरिएको सवारीसाधन सुरक्षा चौकीको पर्खालमा ठोक्काएर विस्फोट गराएको जनाएको छ। सन् २००७ देखि पाकिस्तान सरकारविरुद्ध सशस्त्र संघर्ष गर्दै आएको प्रतिबन्धित संगठन तेहरिक-ए-तालिबान पाकिस्तान (टीटीपी)ले आक्रमणको जिम्मेवारी लिँदै चार जना आत्मघाती आक्रमणकारी सहभागी भएको दाबी गरेको छ।
घटनापछि सुरक्षाकर्मीहरूले आक्रमणमा संलग्न अन्य व्यक्तिको खोजी गर्न आसपासका क्षेत्रमा व्यापक सुरक्षा तथा खोजी अभियान सञ्चालन गरेका छन्। यो आक्रमण पाकिस्तानको उत्तरपश्चिम क्षेत्रमा पछिल्ला महिनाहरूमा सुरक्षा निकाय, सरकारी अधिकारी र सर्वसाधारणमाथि भएका लगातारका हिंसात्मक घटनामध्ये पछिल्लो हो। सन् २०२१ मा अफगानिस्तानमा तालिबान पुनः सत्तामा आएपछि पाकिस्तानमा सक्रिय सशस्त्र समूहहरूको गतिविधि तीव्र बनेको सुरक्षा विश्लेषकहरूको भनाइ छ।
पाकिस्तानले लामो समयदेखि अफगानिस्तानले आफ्नो भूमिमा पाकिस्तानविरुद्ध सक्रिय सशस्त्र समूहलाई आश्रय दिएको आरोप लगाउँदै आएको छ। तर अफगान तालिबान सरकारले उक्त आरोप अस्वीकार गर्दै पाकिस्तानभित्रका सुरक्षा समस्या उसको आन्तरिक विषय भएको बताउने गरेको छ।
दुवै देशबीचको तनाव पछिल्ला महिनाहरूमा सैन्य स्तरसम्म पुगेको छ। पाकिस्तानले अफगानिस्तानभित्र रहेका सशस्त्र समूहलाई लक्षित गर्दै पटकपटक हवाई आक्रमण गरेको छ भने अफगान पक्षले पनि त्यसको प्रतिकार गरेको छ। संयुक्त राष्ट्रसंघका अनुसार यस वर्ष भएका ती हवाई कारबाहीमा सयौं अफगान सर्वसाधारणको मृत्यु भइसकेको छ, जसले दुई छिमेकी देशबीचको सम्बन्धलाई थप तनावपूर्ण बनाएको छ।










प्रतिक्रिया दिनुहोस्