राजनीति

नागढुङ्गा-सिस्ने खोला सुरुङमार्ग आज उद्घाटन गरिँदै



काठमाडौँ, ११ साउन । नागढुङ्गा सिस्ने खोला सुरुङमार्गको आज औपचारिक उद्घाटन हुँदै छ ।

पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, यहाँस्थित जापानी राजदूत मायदा तोरु, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)का अध्यक्षलगायतका वरिष्ठ अधिकारीको उपस्थितिमा सुरुङमार्ग उद्घाटन गर्न लागिएको हो ।

उद्घाटनपछि निर्माणपक्षले सुरुङमार्ग नेपाल सरकारलाई हस्तान्तरण गर्ने बताइएको छ । पूर्वाधार विकासमन्त्रीको प्रमुख आतिथ्यमा आज बिहान १०ः२५ बजे सुरुङमार्गको उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ ।

कार्यक्रमअनुसार मन्त्री लम्साल, जापानी राजदूत र जाइकाका अध्यक्षले सुरुङभित्र गाडी चलाएर सवारी आवागमनको उद्घाटन गर्नेछन् । एम्बुलेन्स र सुरक्षा निकायका सवारीसाधन र अन्य अत्यावश्यक सवारीसाधनलाई पहिलो चरणमा प्रवेश दिइनेछ ।

यस्तै, अक्सिजनको निरन्तर प्रवाह र अन्य अत्यावश्यक सेवा उपलब्ध गराइएको छ । काठमाडौँको चन्द्रागिरि नगरपालिका–१ दहचोक टोटीपाखाबाट सुरु हुने सुरुङमार्ग पश्चिमतर्फ धादिङको धुनिबेँसी नगरपालिकाको सिस्नेखोलामा टुङ्गिनेछ । सुरुङमार्ग निर्माणमा जापान सरकारको रु २१ अर्ब बराबरको सहुलियतपूर्ण ऋण र नेपाल सरकारको रु ६ अर्ब बराबरको लगानी रहेको छ । सुरुङमार्ग सञ्चालन, व्यवस्थापनका लागि व्यवसायी छनोट भई परिचालित भइसकेको छ । सुरक्षाकर्मी तथा अन्य प्राविधिक कर्मचारीले नियमित अनुगमन तथा निरीक्षण गरिरहेका छन् ।