एजेन्सी, ११ साउन । स्ट्रेट अफ होर्मुजमा समुद्री माइनमा ठोक्किएर एक तेल ट्यांकरमा आगलागी भएको छ ।
इरानी समाचार संस्थाका अनुसार ट्यांकर तेहरानले तोकेको समुद्री मार्ग छाडेर अर्को बाटोबाट गुज्रिरहेको तेल ट्यांकर बारूदी सुरङ (नेभल माइन)मा ठोक्किएको थियो ।
इरानले यसअघि पनि आफ्ना अधिकारीहरूले निर्धारण गरेको मार्गभन्दा बाहिरबाट जहाज सञ्चालन गरे त्यसको जिम्मेवारी सम्बन्धित जहाज स्वयंले लिनुपर्ने चेतावनी दिँदै आएको थियो ।
यद्यपि यस घटनाबारे इरानी अधिकारीहरूले हालसम्म कुनै आधिकारिक प्रतिक्रिया दिएका छैनन् । घटनामा भएको क्षति वा मानवीय हताहतबारे पनि पुष्टि भएको छैन ।
फेब्रुअरीदेखि अमेरिका–इरानबीच सैन्य द्वन्द्व सुरु भएपछि कुनै जहाज समुद्री माइनमा परेको यो पहिलो घटना हो । होर्मुज स्ट्रेटमा इरानले द्वन्द्वका क्रममा नेभल माइन बिछाएको थियो । युद्धविरामपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ती माइन हटाउन निर्देशन दिएका थिए।
यमनका हूती विद्रोहीले साउदी अरबको जजानस्थित साउदी अरामको तेल रिफाइनरीमा तीनवटा ब्यालिस्टिक मिसाइल प्रहार गरेको दाबी गरेका छन् । उक्त रिफाइनरी साउदी अरबको पाँचौं ठूलो तेल प्रशोधन केन्द्र मानिन्छ । इस्लामिक रिभोलुसनरी गार्ड कर्प्सले होर्मुज स्ट्रेट पार गर्न खोजिरहेका चार जहाजतर्फ चेतावनीस्वरूप गोली चलाएको दाबी गरेको छ । त्यसपछि ती जहाजहरूले आफ्नो मार्ग परिवर्तन गरेका जनाइएको छ ।
इरान सरकारले इन्धनको बढ्दो खपत नियन्त्रण गर्न पेट्रोलको मूल्य वृद्धि गर्ने विषयमा छलफल गरिरहेको जनाएको छ । मूल्य समायोजन कसरी लागू गर्ने भन्नेबारे अध्ययन भइरहेको बताइएको छ ।
अमेरिकाले इरानमाथिको आक्रमण रोकेको दाबी : अमेरिका शुक्रबार राति इरानमाथि कुनै सैन्य आक्रमण नगरेको बताइएको छ । यसअघि लगातार १३ रातसम्म अमेरिकी सेनाले इरानी सैन्य संरचनालाई लक्षित गरी आक्रमण गरेको दाबी गरिएको थियो ।










प्रतिक्रिया दिनुहोस्