काठमाडौँ, १५ साउन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सामाजिक सञ्जाल तथा विभिन्न माध्यमबाट प्रवाह हुने भ्रमपूर्ण र मिथ्या सूचनाको पछि नलाग्न पार्टीका नेता तथा कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् ।
नेपाली काँग्रेस केन्द्रीय कार्यालयमा उपलब्ध पदाधिकारी, केन्द्रीय सदस्य तथा जुममार्फत कोशी र मधेस प्रदेशका विभिन्न तहका नेताहरूसँगको छलफलमा बोल्दै थापाले जिम्मेवार राजनीतिक नेतृत्वले कुनै पनि विषयमा धारणा बनाउनुअघि त्यसको सत्यतथ्य जाँच गर्नुपर्नेमा उनले जोड दिएका छन् ।
नेपाली काँग्रेस मुलुकको मुख्य र अभिभावक शक्ति भएकाले समाजमा देखा पर्ने जटिल परिस्थितिलाई सम्हाल्ने प्रमुख जिम्मेवारी काँग्रेसकै भएको उनले बताए।
पार्टीका कामकारबाहीलाई थप व्यवस्थित र प्रभावकारी बनाउन शनिबार बिदाको दिन पनि केन्द्रीय कार्यालय खुला रहने जानकारी थापाले दिएका छन्। पार्टीका कर्मचारी, पदाधिकारी र स्वयं आफू पनि नेता कार्यकर्ताको सम्पर्कमा रहने भन्दै उनले संसदीय दलका नेता र सांसदहरूलाई समेत परिचालन गरिएको बताए।










प्रतिक्रिया दिनुहोस्