काठमाडौँ, १८ साउन । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले ‘मिसन पार्टी जागरण’ पार्टी निर्माणको महत्वपूर्ण अभियान भएकाले सबै पालिकामा सुरु गर्न निर्देशन दिएका छन् ।
पार्टीका प्रदेश कमिटीका पदाधिकारीहरू र मिसन पार्टी जागरणका केन्द्रीय प्रतिनिधिहरूसँगको भर्चुअल बैठकलाई सम्बोधन गर्दै महासचिव पोखरेलले यस्तो निर्देशन दिएका हुन्।
पार्टीको जनतासँग टुटेको सम्बन्धलाई जोड्ने उद्देश्यका साथ सुरु गरिएको यस अभियानलाई सफल पार्न पार्टी कमिटी मात्र नभई जनसंगठनहरू पनि परिचालन गर्ने योजना बनाइएकाले सोहीअनुसार परिचालित हुन उनले आग्रह गरे। पार्टी जागरण अभियान यतिबेला जिल्ला कमिटीहरूका बैठक गरी कार्यक्रम बनाई अगाडि बढाइँदै छ।
पार्टीले पालिका तहसम्म केन्द्रीय प्रतिनिधि खटाएको छ। महासचिव पोखरेलले पार्टी विस्तारको दायरा फराकिलो बनाउन र वर्ग, समुदाय तथा पेसागत क्षेत्र समेटेर जागरण अभियान सम्पन्न गर्न सुझाव दिए। पार्टी सुदृढ बनाउन विचार, संगठन र नेतृत्वमा पुनर्गठन आवश्यक हुने सन्दर्भमा आफ्नो भनाइ राख्दै पोखरेलले विचारधाराको महत्वपूर्ण भूमिका हुने हुँदा जनताको बहुदलीय जनवादलाई समृद्ध बनाउँदै आएको स्मरण गराए।










प्रतिक्रिया दिनुहोस्