राजनीति

डिजिटल हिंसा नियन्त्रण गर्न कानुनी सुधार आवश्यक : मन्त्री वादी



काठमाडौँ, १८ साउन । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादीले डिजिटल हिंसा नियन्त्रण गर्न कानुनी सुधार अपरिहार्य रहेको बताएकी छन् ।

आज प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिमा भएको साइबर सुरक्षासम्बन्धी छलफलमा उनले पछिल्लो समय डिजिटल प्रविधिको तीव्र विस्तारसँगै साइबर अपराध र डिजिटल हिंसा सामाजिक तथा मानवअधिकारको चुनौतीका रूपमा उभिएको बताएकी छन् ।

यसको नियन्त्रणका लागि कानुनी, संस्थागत र प्राविधिक सुधारलाई तीव्र बनाउनुपर्ने उनको भनाइ छ । साइबर बुलिङ, चरित्र हत्या, नक्कली सामाजिक सञ्जाल खाता, निजी फोटो तथा भिडियोको दुरुपयोग, डिपफेक, ब्ल्याकमेलिङ, साइबर स्टकिङ र डिजिटल वित्तीय ठगीका घटना बढ्दै गएको मन्त्री वादीले औँल्याइन्। यस्ता अपराधबाट विशेषगरी महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदाय बढी प्रभावित भएको उनले बताइन्।

उनले भनिन्, ‘आजको प्रविधि कानुनभन्दा छिटो परिवर्तन भइरहेको छ। एआई, डिपफेक र सीमापार सञ्चालित डिजिटल प्लेटफर्मका कारण अनुसन्धान अझ जटिल बन्दै गएको छ। हाम्रो कानुनी व्यवस्था, अनुसन्धान प्रणाली, संस्थागत क्षमता र अन्तरनिकाय समन्वय समय अनुकूल सुदृढ हुन आवश्यक छ।’