काठमाडौँ, २२ साउन । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका वडा नं. ३ स्थित तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट (बीओपी) मा क्षति पुगेको छ ।
गएराति सवा १ बजेतिर बीओपीको उत्तर-पश्चिम तर्फ रहेको करिब २०० देखि ३०० मिटर अग्लो डाँडाबाट सुख्खा पहिरो खसेको थियो । पहिरोसँगै झरेका ठूला ढुङ्गाहरू एक आपसमा ठक्कर खाएर उछिट्टिँदा सशस्त्र प्रहरीको ब्यारेक र अन्य संरचनामा क्षति पुगेको हो ।
सशस्त्र प्रहरी बल तातोपानी बीओपीका अनुसार उक्त घटनामा कुनै मानवीय क्षति भने भएको छैन । तर, कार्यालयका विभिन्न भौतिक संरचनामा भने उल्लेख्य क्षति पुगेको छ ।
प्राप्त जानकारी अनुसार पहिरोका कारण पहिलो लाइन ब्यारेकको एउटा झ्यालको सिसा फुटेको छ भने दोस्रो लाइन ब्यारेकको भित्तामा प्वाल पर्नुका साथै जस्ताको छानामा ६ वटा प्वाल परेका छन् । त्यसैगरी, एउटा ड्युटी पोस्ट पूर्ण रूपमा र अर्को एउटा आंशिक रूपमा क्षतिग्रस्त भएको छ ।










प्रतिक्रिया दिनुहोस्