काठमाडौँ, २३ साउन । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले ‘देखाइदिऊँ’ भन्ने प्रवृत्तिको परिणाम आज पार्टीले भोगिरहेको टिप्पणी गरेका छन् ।
तारकेश्वर नगर कमिटीद्वारा आयोजित ‘मिसन पार्टी जागरण २०८३’ तथा पुष्पलाल स्मृति दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टी र आन्दोलन कमजोर हुनुका कारणहरू पहिचान गरी सम्बोधन गर्नु नै अहिलेको मुख्य साङ्गठनिक कार्यभार रहेको उल्लेख गरे । पार्टीलाई वैचारिक, राजनीतिक र साङ्गठनिक रूपमा एकताबद्ध बनाउन शुद्धीकरण, सुदृढीकरण र रूपान्तरण अनिवार्य रहेकोमा उनले जोड दिए । निर्वाचनमा सोचेजस्तो परिणाम नआए पनि जनताको मनोविज्ञान बुझेर अघि बढेमा एमालेले नै वर्तमान चुनौतीको सामना गर्न सक्ने दाबी पोखरेलले गरे ।
महासचिव पोखरेलले भने, ‘केन्द्रीय सचिवालयले शुद्धीकरण, सुदृढीकरण र रूपान्तरण आवश्यक रहेको निष्कर्ष निकालेको छ। त्यसका लागि कार्यदल गठन गरिएको छ। तर संस्थागत निर्णय पर्खेर मात्र हुँदैन, आफ्नो ठाउँको सङ्गठन बलियो बनाउन अहिलेबाटै पहलकदमी गर्नुपर्छ। कार्यकर्ता पलायन भएपछि भोलि फर्काउन गाह्रो हुन्छ। प्रमुख राजनीतिक दलहरूले आफ्ना कमी-कमजोरी सच्याउँदै अघि बढ्नु नै नेपालको राजनीतिक भविष्यका लागि सुरक्षित बाटो हो ।’










प्रतिक्रिया दिनुहोस्