काठमाडौँ, २५ साउन । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले लोकतन्त्रको सुदृढीकरण र नागरिकलाई सुसूचित गराउन मातृभाषामा गरिने पत्रकारिताको भूमिका महत्त्वपूर्ण हुने बताएकी छन् ।
आज काठमाडौँमा आयोजित ‘तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन’लाई सम्बोधन गर्दै मन्त्री गौतमले यस्तो बताएकी हुन् । अन्तर्राष्ट्रिय आदिवासी दिवसको सन्दर्भ पारेर आयोजना गरिएको उक्त कार्यक्रममा मन्त्री गौतमले नेपालको इतिहास, सभ्यता र संस्कृति जगेर्ना गर्न आदिवासी समुदायले खेलेको भूमिकाको प्रशंसा गरिन् ।
राज्यका कामकारबाही र सूचनाहरू हरेक नागरिकले आफ्नै मातृभाषामा बुझ्न पाउनु लोकतन्त्रको सुन्दर पक्ष भएको उनले उल्लेख गरिन्। राज्य र नागरिकबिच रहेको सूचनाको दूरी मेटाउन पत्रकारहरूको ठूलो जिम्मेवारी रहेकोमा उनले जोड दिइन् ।
मिथिलादेखि राउटे समुदायसम्मका हरेक नागरिकले राज्यको गतिविधिबारे थाहा पाउनुपर्ने उनले बताइन्। मन्त्री गौतमले मातृभाषाका पत्रकारहरूले भोग्नुपरेका समस्या र चुनौतीप्रति राज्य सकारात्मक रहेको उल्लेख गरिन् ।
उनले यस क्षेत्रको विकास र प्रवर्द्धनका लागि गर्नुपर्ने कामहरूको ठोस प्रस्ताव अथवा बुँदागत सुझाव पेश गर्न पत्रकारहरूलाई आग्रह गरेकी छन् ।
उनले भनिन्, ‘नेपालको पहिचान र इतिहास केवल सरकारी दस्तावेजमा मात्र सीमित छैन, यो हाम्रो संस्कार, संस्कृति, रहनसहन र भाषाहरूमा जीवित छ।’ नेपालको बहुजातीय र बहुभाषिक विविधतालाई जोगाउनु सबै नेपालीको साझा दायित्व भएको उनले बताइन्। ‘जब नागरिकले आफ्नै आमाले सिकाएको भाषामा राज्यका सूचनाहरू प्राप्त गर्छन्, तब मात्र लोकतन्त्र वास्तविक अर्थमा बलियो हुन्छ,’ ।










प्रतिक्रिया दिनुहोस्