राजनीति

मन्त्री बादी र अस्ट्रेलियाली राजदूतबीच भेटवार्ता



काठमाडौँ, २६ साउन । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीसँग नेपालका लागि अस्ट्रेलियाका राजदूत साइमन अन्स्र्टले मन्त्रालयमा शिष्टाचार भेट गरेका छन् । 

आज मन्त्रालयमा उनीहरूबीच भएको भेटमा नेपाल–अस्ट्रेलियाबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ र परिणाममुखी बनाउनुपर्नेमा जोड दिइएको थियो ।

भेटमा महिला सशक्तीकरण, बाल अधिकार तथा संरक्षण, अपाङ्गता समावेशीकरण, सामाजिक सुरक्षा, हेरचाह अर्थतन्त्र (केयर इकोनोमी), मानव संसाधन विकास तथा नीतिगत अनुभव आदानप्रदानका विषयमा छलफल भएको थियो ।

नेपाल र अस्ट्रेलियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै मैत्रीपूर्ण र सौहार्दपूर्ण सम्बन्ध रहँदै आएको मन्त्री बादीले उल्लेख गरिन् । आगामी दिनमा आपसी सहकार्यलाई थप परिणाममुखी बनाउनुपर्नेमा उनले जोड दिइन् । शिक्षा, मानव विकास, सुशासन, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणका क्षेत्रमा अस्ट्रेलियाले नेपाललाई गर्दै आएको विकास सहयोगप्रति उनले धन्यवाद व्यक्त गरिन् ।

भेटका क्रममा राजदूत अन्स्र्टले नेपाल–अस्ट्रेलियाबिचको विद्यमान सहकार्यको महत्त्व उल्लेख गर्दै आपसी हित र प्राथमिकताका क्षेत्रमा सहकार्यलाई थप प्रभावकारी बनाउँदै लैजान सकारात्मक धारणा व्यक्त गरे ।